रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि वीरगंज महानगरपालिकाले १ करोड ११ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।
कार्यवाहक मेयर इम्तियाज आलमको अध्यक्षतामा शनिबार बसेको महानगरपालिकाको कार्यपालिका (बोर्ड) बैठकले बाढी प्रभावित नागरिकका लागि १ करोड ११ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो । बैठकले उक्त रकम महानगरपालिकाका आन्तरिक स्रोतबाट जुटाउने निर्णयसमेत गरेको छ । कार्यवाहक मेयर आलमका अनुसार महानगरपालिकाका ३२ वटै वडा कार्यालयबाट १ लाख २५ हजार रुपैयाँका दरले रकम संकलन गरिनेछ ।
त्यसैगरी, महानगरपालिकाका सम्पूर्ण जनप्रतिनिधिको एक महिनाको तलब तथा सेवा–सुविधा बराबरको रकम र महानगरपालिकामा कार्यरत कर्मचारीहरूको तलबबाट मुख्यसचिवस्तरीय निर्णयअनुसार तोकिएको रकम कट्टा गरी सहयोग रकम जुटाइनेछ । यसरी संकलित १ करोड ११ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने कार्यवाहक मेयर आलमले जानकारी दिए छन ।
बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको भन्दै विपद्को कठिन समयमा प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले आकस्मिक बोर्ड बैठक बोलाएर सहयोगको निर्णय गरिएको जनाइएकाे छ ।