रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि रौतहटका परिवारमा छाएको त्रास अझै हट्न सकेको छैन ।
बाढीपछि सम्पर्कविहीन भएका रौतहटका २० जनामध्ये ६ जना परिवार तथा आफन्तको सम्पर्कमा आए पनि नेपाली सेना र सशस्त्र प्रहरीका कर्मचारीसहित १४ जनाको अवस्था अझै अज्ञात रहेको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले आइतबार सार्वजनिक गरेको विवरणअनुसार बाढीपछि रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न स्थानमा रहेका रौतहटका नागरिक सम्पर्कविहीन भएका थिए। खोजी तथा उद्धारका क्रममा ६ जना परिवार तथा आफन्तको सम्पर्कमा आए पनि बाँकी १४ जनाको अवस्थाबारे हालसम्म कुनै जानकारी प्राप्त हुन सकेको छैन ।
६ जना परिवारको सम्पर्कमा
प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालका अनुसार ईशनाथ नगरपालिका–४ का २४/२५ वर्षीय मोहम्मद एजाज (शेख मजिद) परिवारको सम्पर्कमा आएका छन्। उनी त्रिशूली बजारस्थित मोटरसाइकल ग्यारेजमा कार्यरत थिए।
त्यस्तै, चन्द्रपुर नगरपालिका–४ की ३७ वर्षीया पवित्रा नेपाल सिलवाल र उनका १५ वर्षीय छोरा सम्राट सिलवाल पनि परिवारको सम्पर्कमा आएका छन्। उनीहरू गोसाइँकुण्ड क्षेत्रमा रहेका थिए। दुवै जना भदौ ११ गते साँझ क्रमशः श्रीमान् तथा बुवाको सम्पर्कमा आएका हुन्।
गढीमाई नगरपालिका–७ का ३५ वर्षीया मोहिदा खातुन, १४ वर्षीया सकिना खातुन र १० वर्षीय सलमान अन्सारी पनि धादिङको मलेखुबाट परिवार तथा आफन्तको सम्पर्कमा आएका छन्। उनीहरू मलेखु बजार आसपासमा रहेका थिए।
१४ जनाको अवस्था अझै अज्ञात
बाढीपछि सम्पर्कविहीन रहेका १४ जनामध्ये गरुडा नगरपालिका–१ का ३४ वर्षीय सुधीरकुमार साह र वृन्दावन नगरपालिका–२ का ३४ वर्षीय गौरवकुमार राउत अपर त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत थिए।
वृन्दावन नगरपालिका–३ पिपराका १२ वर्षीय समीर मन्सुरी नुवाकोटको वेत्रावती बजारमा रहँदै आएका थिए।
गौर नगरपालिका–९ का ३५ वर्षीय प्रहरी हवल्दार नवीनकुमार सिंह रसुवाको सशस्त्र प्रहरी पोस्ट मैलुङमा कार्यरत थिए।
गुजरा नगरपालिका–८ पिपराका ३६ वर्षीय हरेराम खाँ रसुवाको सिन्धु हाइड्रोपावरमा कार्यरत थिए।
राजदेवी नगरपालिका–९ की ५० वर्षीया संगीता देवी त्रिशूली बजारमा मिठाई पसल सञ्चालन गर्दै आएकी थिइन्। उनका २५ वर्षीय छोरा राहुलकुमार पनि सोही पसलमा कार्यरत थिए। आमा–छोरा दुवै बाढीपछि सम्पर्कविहीन छन्।
चन्द्रपुर नगरपालिका–३ गैँडाटारका २६ वर्षीय विवेक दवाडी ट्रक चालक र सोही स्थानका १८ वर्षीय रणबहादुर तिमल्सिना ट्रक सहचालकका रूपमा कार्यरत थिए। राजदेवी नगरपालिका–२ का ४२ वर्षीय रामविनोद भगत पनि सम्पर्कविहीन छन्।
यसैगरी, मौलापुर नगरपालिका–७ का २३ वर्षीय नेपाली सेनाका सिपाही अभिषेक गुप्ता मैलुङस्थित सुरक्षा पोस्टमा कार्यरत थिए।
वृन्दावन नगरपालिका–१ की ४६ वर्षीया तेतरी देवी नुवाकोटको वेत्रावतीमा बस्दै आएकी थिइन्।
चन्द्रपुर नगरपालिका–१ का ३७ वर्षीय शेरबहादुर माझी रसुवा हाइड्रोपावरमा मिस्त्रीको काम गर्दै आएका थिए भने गुजरा नगरपालिका–४ का ४० वर्षीय समान्त पौडेल रसुवामा क्रेन चालकका रूपमा कार्यरत थिए।
आफन्तको खबरको प्रतीक्षामा परिवार
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोटलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। बाढीपछि सम्पर्कविहीन बनेका आफ्ना आफन्तको खबरको प्रतीक्षामा रौतहटका परिवारहरू दिनरात चिन्तित छन्।
जिल्ला प्रशासन कार्यालय रौतहटका अनुसार सम्पर्कविहीन २० जनामध्ये हालसम्म ६ जना सम्पर्कमा आएका छन् भने १४ जनाको अवस्था अझै अज्ञात छ।
सम्पर्कविहीन व्यक्तिहरूको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायमार्फत आवश्यक पहल भइरहेको प्रशासनले जनाएको छ। साथै, बेपत्ता व्यक्तिबारे कुनै जानकारी प्राप्त भएमा तत्काल सम्बन्धित निकायमा खबर गर्न प्रशासनले आग्रह गरेको छ।