पूर्वमन्त्री एवं सांसद प्रदीप यादवले रसुवा, नुवाकोट र धादिङमा बाढी–पहिरोका कारण भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
यादवले रसुवामा भएको ठूलो क्षति तथा नुवाकोट र धादिङमा बाढी–पहिरोका कारण ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन् ।
उनले बाढी–पहिरोका कारण घरबारविहीन भएका परिवार तथा बेपत्ता नागरिकका परिवारप्रति समेत सहानुभूति प्रकट गरेका छन् । आफ्ना प्रियजनको अवस्था थाहा पाउन प्रतीक्षामा रहेका परिवारको पीडा अत्यन्तै दुःखद रहेको भन्दै यादवले उनीहरूको पीडाप्रति गहिरो चिन्ता व्यक्त गरेका हुन् ।
पूर्वमन्त्री यादवले विपद्का कारण प्रभावित नागरिकको उद्धार तथा राहतका लागि नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह र सम्बन्धित निकायहरू सक्रिय रूपमा परिचालित भइरहेको उल्लेख गरेका छन् ।
उद्धार तथा राहतका कामलाई प्रभावकारी रूपमा अघि बढाउँदै प्रभावित क्षेत्रमा पुनर्निर्माण र पुनःस्थापनाको कामसमेत यथाशीघ्र तीव्र बनाउन उनले सरकारसँग आग्रह गरेका छन् ।
प्रभावित परिवारले चाँडोभन्दा चाँडो आफ्नो दैनिक जीवन सामान्य अवस्थामा फर्काउन सक्ने वातावरण निर्माण गर्न सरकार गम्भीर र जिम्मेवार भएर काम गर्नुपर्ने यादवको भनाइ छ ।
उनले दिवंगत नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता नागरिकको शीघ्र खोजी, घाइतेको प्रभावकारी उपचार तथा प्रभावित परिवारको सुरक्षित पुनःस्थापनाका लागि आवश्यक सबै कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका छन् ।