करण केसीको उत्कृष्ट बलिङपछि नेपालले प्रिमियर कप क्रिकेटमा लगातार दोस्रो विजय हात पारेको छ । करणले ४ विकेट लिएपछि नेपालले बिहीबार घरेलु टोली मलेसियालाई ६ विकेटले पराजित गर्यो ।
करणले ७.३ ओभरमा २३ रन खर्चेर उत्कृष्ट बलिङ गरेपछि क्वालालम्पुरस्थित वाईएसडी यूकेएम ओभलमा ३२।३ ओभर खेली १ सय ३ रनमै अलआउट भयो । अर्जुन कुमालले संयमित ब्याटिङ गरेपछि नेपालले २२ ओभरभित्रै १ सय ६ रन बनाएको थियो ।
करणले आफ्नो पहिलो दुई ओभरमा ओपनरद्वय नाजमुस सकिबलाई ३ र सैफ उल्लाहलाई ९ रनमा आउट गरेपछि मलेसिया सुरुआतदेखि दबाबमा परेको थियो । करणले अन्तिम २ विकेट लिई मलेसियाको इनिङ्सलाई सस्तैमा समेटेका थिए ।
करणबाहेक नेपालबाट ललित राजवंशीले २ विकेट लिए । उनले ६ ओभरमा १ मेडन राख्दै १९ रन खर्चे । त्यस्तै कप्तान सन्दीप लामिछानेसहित दीपेन्द्रसिंह ऐरी र हेमन्त धामीले १–१ विकेट लिए ।
मलेसियाबाट कप्तान सैयद अजिजले सर्वाधिक ३० रन बनाए । उनी करणको बलमा नवौं खेलाडीको रुपमा आउट भए । अजिजले ४९ बल खेली समान २ चौका र छक्का प्रहार गरे । अकिल वाहिदले ३९ बल खेली २ चौका प्रहार गर्दै २४, वीरनदीप सिंहले २६ बल खेली २ चौका प्रहार गर्दै १४ र सयहादत रमिलले २५ बल खेली २ चौका प्रहार गरी १३ रन बनाए । नेपालले ओपनर आसिफ शेखलाई इनिङ्सको दोस्रो बलमै गुमाएको थियो । देव खनालले पनि २ रन मात्र जोड्न सके । तर अर्जुनलले ४४ रन बनाई नेपाललाई विजय दिलाए । उनले ६६ बल खेली ४ चौका प्रहार गरे । इशान पाण्डे २९ बल खेली २ चौका प्रहार गरी २० र रोहित पौडेल १६ बल खेली १० रनमा आउट भए । दीपेन्द्र ९ बल खेली १ चौका प्रहार गरी ८ रनमा अविजित रहे ।
मलेसियाबाट अजिज, वीरनदिप, उल्लाह र प्रशान्ध मधुकरले १–१ विकेट लिए । नेपाल समूह ‘ए’ मा ४ अंकसहित शीर्ष स्थानमा छ । नेपालले आइतबार साउदी अरेबियासँग समूह चरणको तेस्रो खेल खेल्ने छ ।