एसिसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ।
मलेसियामा आज भएको खेलमा नेपालले घरेलु टोली मलेसियालाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको हो।
यसअघि भएको पहिलो खेलमा नेपालले बहराइनलाई पराजित गरेको थियो। मलेसियाले नेपालसामु जितका लागि १०४ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो। नेपालले उक्त लक्ष्य २१.४ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो।
नेपालका लागि अर्जुन कुमालले सर्वाधिक ४५ रन बनाए। उनले ६८ बलमा चार चौका प्रहार गर्दै अविजित ४५ रनको योगदान दिए। त्यस्तै, इसान पाण्डेले २०, दीपेन्द्रसिंह ऐरीले १२ र रोहितकुमार पौडेलले १० रन बनाए।
बलिङतर्फ मलेसियाका सायिद अजिज, विरनदीप सिंह, प्रशान्त मधुकर र अरिफ उल्लाहले समान एक–एक विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया ३२.३ ओभरमा सबै विकेट गुमाउँदै १०३ रनमा समेटिएको थियो। मलेसियाका कप्तान सायिद अजिजले सर्वाधिक ३० रन बनाए। उनले ४९ बलमा दुई चौका र दुई छक्काको मद्दतमा ३० रन जोडे।
त्यस्तै, अकिल वाहिदले २४, विरनदीप सिंहले १४ तथा स्याहादत रामीले १३ रन बनाए। अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।
मलेसियालाई सस्तोमै समेट्ने क्रममा नेपालका करण केसीले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिए। ललितनारायण राजवंशीले दुई तथा हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले समान एक–एक विकेट लिए।
नेपालले प्रतियोगितामा अब आफ्नो तेस्रो खेल भदौ २१ गते साउदी अरेबियासँग खेल्नेछ।