१. पालिकाबाटै लाइसेन्स वितरण, सेवाग्राहीलाई सहज
बर्दिबास । सवारी चालक अनुमति पत्र (लाइसेन्स) आफ्नै पालिकाबाट प्राप्त हुन थालेपछि सर्लाही, महोत्तरी र धनुषाका सेवाग्राहीलाई सहज भएको छ ।
यातायात व्यवस्था कार्यालय बर्दिबास, महोत्तरीले सम्बन्धित पालिकामै पुगेर लाइसेन्स वितरण गर्न थालेको हो। यससँगै लाइसेन्स लिन यातायात कार्यालयसम्म पुग्नुपर्ने बाध्यता हटेको छ ।
सर्लाहीका लालबन्दी, हरिवन, बरहथवा, ईश्वरपुर, चन्द्रनगर र बागमती नगरपालिकामा सेवाग्राहीका लाइसेन्स पुर्याइसकिएको छ ।
यातायात व्यवस्था कार्यालयका प्रमुख राकेश यादवका अनुसार हरेक शनिबार र आइतबार पालिकामै पुगेर लाइसेन्स वितरण गर्ने व्यवस्था मिलाइएको छ ।
२. तीन लाख धरौटीमा रिहा भए नेपाली कम्युनिस्ट पार्टीका नेता यादव
सर्लाही । नेपाली कम्युनिस्ट पार्टीका नेता अशोककुमार यादव तीन लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् ।
सर्लाही जिल्ला अदालतका न्यायाधीश मनोजकुमार श्रीवास्तवको इजलासले बुधबार यादवलाई तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
आपराधिक उपद्रव तथा कुटपिट गरी अंगभंग गरेको आरोपमा पक्राउ परेका यादव अदालतको आदेशअनुसार धरौटी बुझाएपछि रिहा भएका हुन् ।
यादवलाई गत भदौ २३ गते ललितपुरको धापाखेलबाट पक्राउ गरी अनुसन्धानका लागि सर्लाही ल्याइएको थियो ।
३. जनकपुरधाममा फोहोरको चाङ, छैन स्थायी डम्पिङ साइट
जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामका चोक, मुख्य सडक तथा भित्री सडकमा थुप्रिएको फोहोरले नगरको सरसफाइ व्यवस्थापनमाथि प्रश्न उठाएको छ ।
स्थानीय तहको निर्वाचन भएको नौ वर्ष बितिसक्दा पनि जनकपुरधाम उपमहानगरपालिकाले स्थायी डम्पिङ साइट निर्माण गर्न सकेको छैन। अहिले उपमहानगरपालिकाले जग्गा भाडामा लिएर फोहोर व्यवस्थापन गर्दै आएको छ ।
नगर क्षेत्रमा दैनिक ४० देखि ५० टिपर तथा ट्र्याक्टर फोहोर संकलन हुने गरेको छ । तर, भाडामा लिइएको जग्गा छिट्टै भरिने भएकाले फोहोर विसर्जनमा समस्या हुँदै आएको सरसफाइ शाखाले जनाएको छ ।
स्थायी डम्पिङ साइट निर्माणका लागि कम्तीमा १० बिघा जग्गा आवश्यक पर्ने भए पनि हालसम्म जग्गा उपलब्ध हुन सकेको छैन ।
४. जानकी मन्दिरलाई युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने तयारी
जनकपुरधाम । ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको जानकी मन्दिरलाई युनेस्कोको विश्व सांस्कृतिक सम्पदा सूचीमा सूचीकृत गराउने प्रक्रिया अघि बढाइएको छ ।
नेपाल सरकारले जानकी मन्दिरसहितको क्षेत्रलाई संरक्षित स्मारक क्षेत्र घोषणा गरेपछि सूचीकृत प्रक्रियाका लागि प्रारम्भिक प्रतिवेदन तयार गरिएको हो ।
जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहका अनुसार विज्ञ तथा सरोकारवालाको सुझाव लिएर प्रतिवेदनलाई अन्तिम रूप दिई युनेस्कोमा पेस गर्ने तयारी भइरहेको छ ।
जानकी मन्दिरसँगै संरक्षित क्षेत्रभित्र रहेका पोखरी, सरोवर, मठमन्दिर तथा अन्य ऐतिहासिक सम्पदाको अभिलेखीकरण र संरक्षण गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
५. बालुवा उद्योगमा टिप्पर पल्टिँदा सञ्चालकको मृत्यु
धनुषा । धनुषाको मिथिला नगरपालिका–३, लालभित्तीस्थित औरही बाबा बालुवा प्रशोधन उद्योगमा टिप्पर पल्टिँदा उद्योग सञ्चालकको मृत्यु भएको छ ।
बालुवा खसाल्ने क्रममा टिप्पर पल्टिएपछि उद्योग सञ्चालक हरि महतो बालुवाले चेपिएर घाइते भएका थिए ।
घाइते महतोलाई उपचारका लागि रमदैयास्थित जानकी मेडिकल कलेज लगिएको थियो। तर, उपचारकै क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।
६. स्वास्थ्य कार्यक्रम मूल्यांकनमा परवानीपुर गाउँपालिका बारामै पहिलो
बारा । बाराका स्थानीय तहले सञ्चालन गरेका स्वास्थ्य कार्यक्रमको मूल्यांकनमा परवानीपुर गाउँपालिका जिल्लामै पहिलो भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाराले गरेको मूल्यांकनमा परवानीपुरले ७४ दशमलव ३२ अंक प्राप्त गर्दै जिल्लाका १६ स्थानीय तहमध्ये पहिलो स्थान हासिल गरेको हो ।
मूल्यांकनमा महागढीमाई नगरपालिका दोस्रो र करैयामाई गाउँपालिका तेस्रो भएका छन् ।
स्वास्थ्य कार्यक्रमको योजना तथा कार्यान्वयन, सेवा पहुँच, गुणस्तर र स्वास्थ्य संस्थाको कार्यसम्पादनका आधारमा मूल्यांकन गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
यस्तै, स्वास्थ्य चौकीतर्फ निजगढ नगरपालिका–११ स्थित रतनपुर स्वास्थ्य चौकी उत्कृष्ट घोषित भएको छ। उत्कृष्ट स्थानीय तह तथा स्वास्थ्य संस्थालाई जिल्ला स्वास्थ्य कार्यालयले सम्मान गरेको छ ।
७. सिमरामा २ किलो ९७० ग्राम अफिमसहित दम्पती पक्राउ
बारा । बाराको सिमरा चोकबाट प्रहरीले २ किलो ९७० ग्राम अफिमसहित एक दम्पतीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रौतहटको चन्द्रपुर नगरपालिका–३ का ४३ वर्षीय आईते सिंह जिम्बा र उनकी ४८ वर्षीया पत्नी रोशनी राई रहेका छन् ।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सिमरा र लागूऔषध नियन्त्रण ब्युरो वीरगञ्जबाट खटिएको संयुक्त प्रहरी टोलीले जीतपुरसिमरा उपमहानगरपालिका–२ स्थित सिमरा चोकबाट उनीहरूलाई पक्राउ गरेको हो ।
पैदल हिँडिरहेका दम्पतीमाथि शंका लागेपछि प्रहरीले रोकेर उनीहरूले बोकेको झोला जाँच गरेको थियो। जाँचका क्रममा झोलाभित्र लुकाएर राखिएको अवस्थामा २ किलो ९७० ग्राम अफिम बरामद भएको प्रहरीले जनाएको छ ।
लागूऔषध नियन्त्रण ब्युरो वीरगञ्जका प्रहरी वरिष्ठ नायब निरीक्षक शेखर सिवाकोटी र इलाका प्रहरी कार्यालय सिमराका प्रहरी हवल्दार उमेश यादवको नेतृत्वमा संयुक्त प्रहरी टोली परिचालन गरिएको थियो ।
बरामद अफिमसहित पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय सिमरामा राखिएको छ। उनीहरूमाथि लागूऔषधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
लागूऔषध नियन्त्रण ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले दम्पतीको साथबाट २ किलो ९७० ग्राम अफिम बरामद भएको पुष्टि गरेका छन् ।
८. मधेश सरकारको ३ करोड ५० लाखको विलासी गाडी खरिद प्रक्रिया स्थगित
जनकपुरधाम । मधेश प्रदेश सरकारले भीभीआईपी प्रयोजनका लागि करिब ३ करोड ५० लाख रुपैयाँ लागतको विलासी सवारीसाधन खरिद गर्ने प्रक्रिया तत्कालका लागि स्थगित गरेको छ ।
सवारीसाधन खरिदको औचित्यमाथि प्रश्न उठेपछि प्रदेश सरकारले बोलपत्र प्रक्रिया अघि नबढाउने निर्णय गरेको हो ।
श्रम तथा यातायातमन्त्री शारदादेवी थापाका अनुसार मुलुकको वर्तमान अवस्था र सरकारको खर्च कटौती नीतिलाई ध्यानमा राख्दै खरिद प्रक्रिया रोकिएको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनमा भीभीआईपी प्रयोजनका लागि चारपांग्रे सवारीसाधन खरिद गर्न बोलपत्र आह्वान गरिएको मन्त्री थापाले बताइन् । करोडौँ रुपैयाँ खर्च गरेर नयाँ विलासी सवारीसाधन खरिद गर्नु उपयुक्त हुने वा नहुने विषयमा विभिन्न क्षेत्रबाट प्रश्न उठेपछि प्रक्रिया रोकिएको उनको भनाइ छ।
मन्त्री थापाले तत्काल भीभीआईपीको मधेश प्रदेश भ्रमणको सम्भावना नरहेकाले नयाँ सवारीसाधन खरिदको आवश्यकता नदेखिएको बताइन्। बोलपत्र आह्वान हुनुअघि आफूलाई खरिद प्रक्रियाबारे जानकारी नभएको उनको दाबी छ ।
खरिदको विषयमा प्रश्न उठेपछि मन्त्रालयका सचिवसँग आवश्यक जानकारी लिइएको र निर्णय भइनसकेको अवस्थामा प्रक्रिया अघि नबढाउने निर्णय गरिएको उनले बताइन् ।
यसअघि गत भदौ २५ गते श्रम तथा यातायात मन्त्रालयले भीभीआईपी प्रयोजनका लागि ३ करोड ५० लाख रुपैयाँ लागतको सवारीसाधन खरिद गर्न बोलपत्र आह्वान गरेको थियो ।
बोलपत्र सार्वजनिक भएपछि आर्थिक दबाबमा रहेको प्रदेश सरकारले एउटै सवारीसाधनमा करोडौँ रुपैयाँ खर्च गर्न लागेको भन्दै खरिदको औचित्यमाथि प्रश्न उठेको थियो ।
मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा सरकारी खर्च कटौती गर्ने नीति लागू गरिरहेको छ। प्रदेशको बजेट कार्यान्वयनसम्बन्धी निर्देशिकाअनुसार अर्थ मन्त्रालयले विभिन्न ४४ शीर्षकमा २० देखि ७५ प्रतिशतसम्म खर्च कटौती गरेको छ ।