मधेश प्रदेशसभाको बैठक साढे दुई महिनादेखि बस्न नसके पनि प्रदेशसभा सदस्यहरूको तलबभत्तालगायतका शीर्षकमा राज्यकोषबाट करोडौँ रुपैयाँ खर्च भइरहेको छ ।
प्रदेशसभा सचिवालयका अनुसार बैठक सञ्चालन नभएको अवधिमा सांसदहरूको तलबभत्तामा मात्रै करिब १ करोड ४० लाख रुपैयाँ खर्च भएको छ । लामो समयदेखि प्रदेशसभा बैठक बस्न नसकेको विषयमा सभामुख रामअशिष यादवले चासो व्यक्त गरेका छन् । सभामुख यादवका अनुसार प्रदेशसभा बैठक आह्वानका विषयमा आफूले मुख्यमन्त्री कृष्णप्रसाद यादवसँग पटकपटक ध्यानाकर्षण गराए पनि सरकारले यस विषयमा आवश्यक चासो देखाएको छैन ।
सभामुख यादवले प्रदेशसभा लामो समयदेखि बैठकविहीन हुँदा विधायिकी काम प्रभावित हुनुका साथै प्रदेशसभा सदस्यहरू जनप्रतिनिधिका रूपमा निर्वाह गर्नुपर्ने मुख्य जिम्मेवारीबाट समेत टाढा रहनुपर्ने अवस्था सिर्जना भएको बताए। उनका अनुसार मुख्यमन्त्रीसँगको भेट तथा छलफलमा बैठक आह्वानका लागि पटकपटक आग्रह गरिए पनि मन्त्रिपरिषद्बाट अहिलेसम्म औपचारिक निर्णय नआएको जवाफ दिइँदै आएको छ ।
प्रदेशसभा बैठक सञ्चालन नभए पनि सांसदहरूको तलबभत्तालगायतका सुविधामा राज्यकोषबाट नियमित खर्च भइरहेको छ । बैठक नबसेको अवस्थामा पनि ठूलो रकम खर्च भइरहँदा प्रदेशसभा सञ्चालनमा प्रदेश सरकारको प्राथमिकतामाथि प्रश्न उठेको छ ।
सभामुख यादवले प्रदेशसभा नियमित रूपमा सञ्चालन गरी आवश्यक कानुन निर्माण, सरकारका कामकारबाहीमाथि छलफल तथा जनताका समस्या सदनमा उठाउने वातावरण बनाउन प्रदेश सरकार गम्भीर हुनुपर्ने बताए ।
भिडियाे रिपाेर्ट