पर्साको पोखरिया बजारमा विगत १० दिनदेखि नियमित फोहोर संकलन तथा व्यवस्थापन हुन नसक्दा बजार क्षेत्रका विभिन्न स्थानमा फोहोर थुप्रिएको छ ।
लामो समयदेखि फोहोर नउठ्दा बजारको सरसफाइ प्रभावित हुनुका साथै दुर्गन्ध फैलिन थालेको स्थानीयले बताएका छन् । फोहोर संकलन तथा सरसफाइमा खटिएका कर्मचारीहरूले आफूहरूले काम गरेबापत पाउनुपर्ने पारिश्रमिक नगरपालिकाबाट भुक्तानी नभएको भन्दै फोहोर संकलनको काम रोकेको बताएका छन् ।

नियमित रूपमा काम गरे पनि पारिश्रमिक नपाउँदा आर्थिक समस्या बढेकाले कामलाई निरन्तरता दिन कठिन भएको उनीहरूको भनाइ छ । सफाइकर्मी काममा नआएपछि बजारका मुख्य सडक, चोक तथा सार्वजनिक स्थानमा दैनिक उत्पादन हुने फोहोरसमेत थुप्रिँदै गएको छ । विशेषगरी खाद्य तथा किराना पसल, होटल तथा सार्वजनिक स्थान आसपास फोहोरको थुप्रो बढेपछि व्यवसायी, स्थानीयवासी तथा सर्वसाधारणलाई समस्या भएको बताइएको छ ।
लामो समयसम्म फोहोर व्यवस्थापन हुन नसक्दा बजार क्षेत्रमा दुर्गन्ध फैलिनुका साथै वातावरण तथा सार्वजनिक स्वास्थ्यमा समेत असर पर्न सक्ने स्थानीयको चिन्ता छ । फोहोर समयमै व्यवस्थापन नहुँदा बजारको सरसफाइ र सौन्दर्यमाथि समेत असर परेको उनीहरूको भनाइ छ ।

स्थानीयवासीले नगरपालिकाले सफाइकर्मीको पारिश्रमिकसम्बन्धी समस्या तत्काल समाधान गरी रोकिएको फोहोर संकलन पुनः सञ्चालन गर्नुपर्ने माग गरेका छन्। साथै, बजारका विभिन्न स्थानमा थुप्रिएको फोहोर तत्काल हटाएर नियमित सरसफाइको व्यवस्था गर्न उनीहरूले आग्रह गरेका छन् ।
यस विषयमा पोखरिया नगरपालिकाका फोहोर व्यवस्थापन समितिका अध्यक्ष सञ्जय पाण्डेयसँग प्रतिक्रिया लिन सम्पर्क गर्ने प्रयास गरिएको थियो। तर, उहाँले फोन नउठाएपछि फोहोर संकलन रोकिएको कारण, पारिश्रमिक भुक्तानीको अवस्था तथा समस्या समाधानका लागि नगरपालिकाले गरिरहेको पहलका विषयमा आधिकारिक प्रतिक्रिया प्राप्त हुन सकेन ।
भिडियाे रिपाेर्ट