सखुवा प्रसौनी गाउँपालिका–५ मा आयोजित निःशुल्क आँखा जाँच शिविरमा २०६ जनाले परीक्षण गराउँदा ६१ जनामा मोतियाबिन्दु देखिएको छ ।
ग्रामीण क्षेत्रमा आँखासम्बन्धी समस्या बढ्दै गइरहेका बेला यस्तो शिविर स्थानीयवासीका लागि ठुलो राहत बनेको छ ।
गाउँपालिका अध्यक्ष जीवन रक्षा अभियान अन्तर्गत महुवन स्वास्थ्य चौकीमा सम्पन्न यो शिविरमा किरण आँखा अस्पताल वीरगञ्जको प्राविधिक सहयोगमा विशेषज्ञ चिकित्सकहरूले बिरामीहरूको आँखा परीक्षण गरी आवश्यक परामर्श, औषधि वितरण तथा शल्यक्रियाका लागि सिफारिस गरेका छन् ।
शिविरमा वृद्धवृद्धादेखि युवा पुस्तासम्मको उल्लेखनीय सहभागिता रहेकाे स्वास्थ्य शाखाले जनाएको छ । कार्यक्रममा वडा अध्यक्ष अशेश्वर प्रसाद यादव, स्वास्थ्य शाखा प्रमुख राजेश प्रसाद रौनियार, महुवन स्वास्थ्य चौकीका इन्चार्ज सरोज गिरि, समाजसेवी चन्दन सहनी निषाद, जदु शाह तेली लगायतको उपस्थिति थियो ।
शिविरले ग्रामीण क्षेत्रका नागरिकलाई सुलभ स्वास्थ्य सेवा प्रदान गर्दै आँखासम्बन्धी समस्या पहिचान गर्ने महत्वपूर्ण भूमिका खेलेको छ । यसबाट थुप्रै बिरामीलाई समयमै उपचारको अवसर मिलेको सखुवा प्रसाैनि गाउँपालिकाले जनाएको छ ।