बीरगंजबाट स्रोत नखुलेको ६ लाख रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। पर्सा प्रहरीले बीरगंज महानगरपालिका–१० आदर्शनगरबाट उनलाई पक्राउ गरेको हो ।
विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरी टोलीले मंगलबार अपराह्न करिब साढे ४ बजे भारतीय नम्बरको मोटरसाइकल जाँच गरेको थियो ।
प्रहरीका अनुसार बीआर ०५ क्यु ४३८४ नम्बरको मोटरसाइकलमा सवार भारत, बिहारको रक्सौल–१४ निवासी २७ वर्षीय ओमकुमार रौनियारको खानतलासी गर्दा ६ लाख रुपैयाँ फेला परेको हो ।
प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार मोटरसाइकलको बायाँतर्फको लेगगार्डमा प्लास्टिकको बोराभित्र लुकाएर राखिएको अवस्थामा ५ सय रुपैयाँ दरका १ हजार २ सय थान नोट बरामद गरिएको हो ।
ओमकुमार रौनियारलाई नियन्त्रणमा लिएर बरामद रकमसहित थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। प्रहरीले घटनालाई हुन्डीसम्बन्धी कसुरको आशंकामा अनुसन्धान गरिरहेको जनाएको छ ।