सिरहाको गोलबजार नगरपालिका–१ बैरीबाणबाट प्रहरीले खैरो हेरोइनसहित दुई युवकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सोमबार प्रहरी चौकी मुक्सार र लागूऔषध नियन्त्रण ब्युरोको गोलबजार शाखाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार बैरीबाणबाट कसाहातर्फ जाँदै गरेको स ६ प ७३३७ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्ने क्रममा चालक धनगढीमाई नगरपालिका–१३ का १९ वर्षीय सुरज यादवको साथबाट ५.५७ ग्राम खैरो हेरोइन फेला परेको थियो ।
मोटरसाइकलमा पछाडि सवार सोही ठाउँका १९ वर्षीय श्यामबाबु कुमार यादवलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता रमेशबहादुर पालका अनुसार पक्राउ परेका दुवै युवकलाई खैरो हेरोइन र मोटरसाइकलसहित इलाका प्रहरी कार्यालय गोलबजारमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।