धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१७, तेतरियास्थित भित्री सडकमा काठ लोड गरिएको ट्याक्टर र एउटा मोटरसाइकल बेवारिसे अवस्थामा फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार आज बिहान करिब साढे ३ बजे पौडेश्वरबाट जनकपुरधामतर्फ आउँदै गरेको ‘अन टेस्ट’ लेखिएको ट्याक्टर सडकछेउमा काठसहित फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालका अनुसार मसलाको काठ लोड गरिएको ट्याक्टर सडकछेउमा रहेको सूचना पाएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। सो क्रममा ट्याक्टरसँगै मधेस प्रदेश ०२–००१ ब ७९४ नम्बरको मोटरसाइकल पनि बेवारिसे अवस्थामा फेला परेको उनले बताए ।
प्रहरीले काठ लोड गरिएको ट्याक्टर र मोटरसाइकल नियन्त्रणमा लिएको छ । दुवै सवारीसाधनलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय, धनुषामा पठाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
काठ कहाँबाट ल्याइएको हो र सवारीसाधन कसले छाडेको हो भन्ने विषयमा थप विवरण खुल्न बाँकी छ ।