चाडपर्वलाई लक्षित गरी बाराको कलैया बजारमा गरिएको संयुक्त अनुगमनका क्रममा म्याद गुज्रिएका खाद्यवस्तु फेला परेपछि दुई पसललाई १५ हजार रुपैयाँ जरिवाना गरिएको छ ।
आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगन्जका प्रमुख सुनिल चौरसियाको नेतृत्वमा मंगलबार गरिएको अनुगमनका क्रममा विकास जेनरल स्टोर्सलाई ५ हजार र मा अर्णपुर्ण स्विट्सलाई १० हजार रुपैयाँ जरिवाना गरिएको हो ।
अनुगमनका क्रममा विकास जेनरल स्टोर्समा म्याद गुज्रिएको पशुपति टी किङ चियापत्ती र कुरकुरे पास्ता फेला परेको थियो । उक्त खाद्य सामग्री जफत गरी नष्ट गरिएको कार्यालयले जनाएको छ ।
त्यस्तै, मा अर्णपुर्ण स्विट्समा मिठाई बनाउन प्रयोग गरिने खिराको बियाँ, गुलाबजल र केवरा वाटर म्याद गुज्रिएको अवस्थामा फेला परेको थियो । यसअघि पनि उक्त पसललाई बजार अनुगमनका क्रममा ५० हजार रुपैयाँ जरिवाना गरिएको थियो ।
आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका प्रमुख चौरसियाका अनुसार उपभोक्ता संरक्षण ऐनको दफा ३८ को खण्ड (घ) र दफा ३९ को खण्ड (क) बमोजिम दुवै पसललाई जरिवाना गरिएको हो । अनुगमनका क्रममा जय महारानी किराना भण्डारमा १०० ग्रामको एक प्याकेट म्याद गुज्रिएको मसला पनि फेला परेको टोलीले जनाएको छ ।
टोलीले न्यु दास किराना पसल, सिद्धु सिद्धार्थ स्वीट्स, न्यु दास सप्लायर्स, राजेश किराना, कलैया बिरयानी हाउस, लक्ष्मी स्वीट्स र मा तारा स्वीट्सलगायत १० वटा पसलमा अनुगमन गरेको थियो । अनुगमन टोलीले व्यवसायीलाई म्याद गुज्रिएका खाद्य सामग्री खरिदबिक्री नगर्न, त्यस्ता सामग्री बिक्रीयोग्य वस्तुबाट अलग राख्न, सामान खरिद गर्दा लेबल र म्याद जाँच गर्न तथा पसलमा सरसफाइ कायम राख्न निर्देशन दिएको छ ।
आगामी दिनमा पनि बजार अनुगमनलाई निरन्तरता दिइने कार्यालय प्रमुख चौरसियाले बताएका छन् ।