दसैं, तिहार र छठलाई लक्षित गर्दै भारतबाट आयात भइरहेको २५ हजार टन चिनीमध्ये १० हजार ६२३ टन वीरगंज नाकाबाट नेपाल भित्रिएको छ ।
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको वीरगंज प्रादेशिक कार्यालयका प्रमुख अमोज लामिछानेका अनुसार असोज लागेयता उक्त परिमाणमा चिनी आयात भएको हो । चिनी बोकेका चारवटा रेल्वे र्याक वीरगंज आइपुगेका छन् ।
‘चाडपर्वमा चिनीको माग बढ्ने भएकाले आयातलाई प्राथमिकता दिएका छौँ,’ लामिछानेले भने, ‘आइसकेको चिनी बजारमा पठाउन पनि सुरु गरिसकेका छौँ ।’ भारतको गुजरातस्थित रेणुका सुगर मिलबाट चिनी खरिद गरिएको हो । कुल २५ हजार टनमध्ये साल्ट ट्रेडिङ कर्पोरेसनले २२ हजार ५०० टन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले २ हजार ५०० टन चिनी प्राप्त गर्नेछन् । साल्ट ट्रेडिङको हिस्सामध्ये ५ हजार टन चिनी विराटनगर प्रादेशिक कार्यालयले पाउनेछ ।
आयातित चिनी वीरगंजबाट देशका विभिन्न बजारमा पठाउन थालिएको छ । चाडपर्वका बेला घरायसी उपभोगसँगै मिठाई, बेकरी तथा अन्य खाद्य सामग्री उत्पादनमा चिनीको खपत बढ्ने भएकाले मागअनुसार आपूर्ति सहज बनाउन सरकारी संस्थानमार्फत चिनी आयात गरिएको हो ।
चाडपर्वमा चिनीको अभाव हुन नदिन र मूल्यमा अनावश्यक दबाब पर्न नदिन आयातलाई प्राथमिकता दिइएको कर्पोरेसनले जनाएको छ ।
वीरगंज नेपालको प्रमुख व्यापारिक नाका हुनुका साथै सिर्सिया सुक्खा बन्दरगाहसम्म भारतीय रेलमार्फत सामान ढुवानी गर्न सकिने भएकाले ठूलो परिमाणमा चिनी आयातका लागि यो नाका प्रयोग हुँदै आएको छ ।
सरकारी संस्थानमार्फत गरिएको चिनी आयातले चाडपर्वमा बजारमा आपूर्ति सहज बनाउन र मूल्य स्थिर राख्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।