बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ स्थित उनासी पुलमा दुई बसको ठक्करबाट ईभी चालक घाइते भएका छन्। बुधबार बिहान करिब ३ बजे पूर्व–पश्चिम राजमार्गमा भएको दुर्घटनामा धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१६ निवासी ४१ वर्षीय ईभी चालक ब्रह्मदेव मण्डल घाइते भएका हुन् ।
प्रहरीका अनुसार दुर्घटनामा मण्डलको ढाडमा चोट लागेको छ। उनको निजगढस्थित सिटी अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
काँकडभिट्टाबाट नेपालगन्जतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख १३६५ नम्बरको बस उनासी पुलमा अगाडिबाट अर्को गाडी आएपछि साइड लगाएर रोकिएको थियो । सोही दिशाबाट पछाडि आउँदै गरेको कोशी प्रदेश १–०१–००१ ख ४८६५ नम्बरको बसले रोकिराखेको मधेस प्रदेश ०४–००१ ज ०१६० नम्बरको ईभीलाई पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ ।
पछाडिबाट बसले ठक्कर दिएपछि ईभी अगाडि रोकिएको बसमा ठोक्किएको थियो। दुर्घटनामा ईभीमा क्षति पुगेको छ भने अगाडिको बसमा सामान्य क्षति भएको छ ।
दुर्घटनामा दुवै बसका चालक सकुशल रहेका छन् । बागमती प्रदेशको बसका चालक झापाको मेचीनगर नगरपालिका–७ निवासी ३४ वर्षीय भरत निरौला हुन्। उक्त बसमा यात्रुहरू रहेकाले आवश्यक प्रक्रिया पूरा गरी गन्तव्यतर्फ पठाइएको प्रहरीले जनाएको छ ।
त्यस्तै, कोशी प्रदेशको बसका चालक झापाको कमल गाउँपालिका–६ निवासी करिब ४७ वर्षीय डम्बरकुमार ताजपुरिया पनि सकुशल रहेका छन्। उक्त बस र चालकलाई इलाका ट्राफिक प्रहरी कार्यालय निजगढले नियन्त्रणमा राखेको छ ।
दुर्घटनापछि असई अनराजेश्वरप्रसाद चौरसियाको कमान्डमा सात जना ट्राफिक प्रहरीको टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ ।