सल्यान । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बुद्धि पन्त (हरि) ले सल्यानमा ‘हामी आउँदैछौँ’ अभियानको समापन फरक शैलीमा गरेका छन् ।
असोज २० देखि २७ गतेसम्म सञ्चालन भएको अभियानअन्तर्गत उनले स्थानीय नेता, कार्यकर्ता तथा शुभेच्छुकका गुनासा सुन्नुका साथै सरकारी अधिकारीसँग छलफल गरेका हुन् ।
अभियानका क्रममा सल्यानको कालीमाटी, त्रिवेणी, कपुरकोट र छत्रेश्वरीलगायतका पालिकामा पुगेका सांसद पन्तसमक्ष स्थानीयले जिल्लामा जनप्रतिनिधिको अभावमा सामान्य समस्यासमेत समाधान हुन नसकेको गुनासो गरेका थिए । उनीहरूले स्थानीय तहमा भ्रष्टाचार र अनियमितता बढेको तथा अवैध क्रसर सञ्चालनलगायतका विषयमा प्रहरी र प्रशासनको भूमिका प्रभावकारी नभएको आरोपसमेत लगाएका थिए ।
स्थानीयका गुनासा सुनेपछि सांसद पन्तले प्रमुख जिल्ला अधिकारीलाई सम्बन्धित सरकारी निकायका जिल्ला प्रमुखसँग बैठक राख्न आग्रह गरेका थिए । सोहीअनुसार जिल्ला प्रशासन कार्यालय सल्यानको बैठक कक्षमा प्रमुख जिल्ला अधिकारी बन्दना कुमारी केसीको अध्यक्षतामा छलफल भएको थियो ।
बैठकमा स्थानीयले उठाएका समस्या र प्रश्नबारे सम्बन्धित कार्यालयका प्रमुखहरूले जवाफ दिएका थिए । उनीहरूले जिल्लास्तरबाट समाधान गर्न सकिने समस्या तत्काल सम्बोधन गर्ने र जिल्लाबाट समाधान गर्न नसकिने विषय सम्बन्धित मन्त्रालयमा सिफारिस गर्ने प्रतिबद्धता जनाएको बताइएको छ ।
बैठकमा प्रमुख जिल्ला अधिकारी केसी, शारदा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिशचन्द्र बुढा, जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दीपक पातली, विद्युत् प्राधिकरणका प्रमुख नरेशदत्त रावल तथा भौतिक पूर्वाधार विकास कार्यालयका निमित्त प्रमुख सिद्धार्थ मिश्रलगायतको उपस्थिति थियो ।
यसैबीच, स्थानीय निर्वाचनलाई लक्षित गरी रास्वपाले देशव्यापी रूपमा सञ्चालन गरेको ‘हामी आउँदैछौँ’ अभियानअन्तर्गत सांसद पन्तले पार्टीका स्थानीय नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई उम्मेदवार छनोट प्रक्रियाबारे प्रशिक्षण दिएका थिए ।
उनले उम्मेदवार छनोटको प्रारम्भिक चरणदेखि ‘क्यान्डिडेट क्लब’मा आबद्ध हुने प्रक्रियासम्मका विषयमा जानकारी गराउनुका साथै सहभागीका जिज्ञासासमेत सम्बोधन गरेका थिए ।
स्थानीय निर्वाचनमा पार्टीको विधि र विधानभन्दा बाहिर गएर कसैले पनि टिकट नपाउने बताउँदै सांसद पन्तले कार्यकर्तालाई संगठन निर्माणमा केन्द्रित हुन आग्रह गरेका थिए । साथै पार्टी र सरकारले गरेका काम लिएर जनतामाझ जान उनले निर्देशन दिएका थिए ।
अभियानमा रास्वपा सल्यानका जिल्ला सभापति प्रकाश नेपाली, नेता रामबहादुर केसी, खड्ग बुढा, लालबहादुर विकलगायत सहभागी थिए ।