१. मधेशमा ५८ प्रतिशत बालबालिका बहुआयामिक वञ्चितीकरणमा, अवस्था चिन्ताजनक
जनकपुरधाम । मधेश प्रदेशमा बालबालिकाको बहुआयामिक वञ्चितीकरणको अवस्था चिन्ताजनक देखिएको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालय र युनिसेफ नेपालको संयुक्त अध्ययनअनुसार प्रदेशमा बालबालिकाको वञ्चितीकरण दर औसत ५८ प्रतिशत रहेको छ । प्रतिवेदनअनुसार सूचना तथा सञ्चारमा ६२ दशमलव ६ प्रतिशत, पोषणमा ५० दशमलव ६ प्रतिशत, शिक्षामा २० प्रतिशत र स्वास्थ्यमा १८ दशमलव १ प्रतिशत बालबालिका वञ्चित छन् ।
जनकपुरधाममा सार्वजनिक गरिएको प्रतिवेदनमा खानेपानी, सरसफाइ, आवासलगायत सातवटा क्षेत्रमा बालबालिकाको अवस्थाको विश्लेषण गरिएको छ । प्रतिवेदनले बालबालिकाको आधारभूत आवश्यकता र सेवामा पहुँच सुधार गर्नुपर्ने चुनौती औँल्याएको छ ।
२. वीरगंज महानगरले तीन दर्जनभन्दा बढी करार तथा ज्यालादारी कर्मचारी हटायो
वीरगंज । वीरगंज महानगरपालिकाले चाडपर्वको मुखमा तीन दर्जनभन्दा बढी करार तथा दैनिक ज्यालादारी कर्मचारीलाई सेवाबाट हटाएको छ ।
महानगरपालिका स्रोतका अनुसार असोज २३ र २४ गते गरी १२ जना नगरप्रहरीसहित तीन दर्जनभन्दा बढी कर्मचारीलाई सेवाबाट हटाइएको हो । महानगरपालिकाले सरकारको निर्देशनअनुसार स्वीकृत दरबन्दीभन्दा बाहिर रहेका कर्मचारीलाई हटाइएको जनाएको छ ।
चाडपर्वको समयमा कर्मचारी हटाइएपछि प्रभावित कर्मचारीको रोजगारी र जीविकोपार्जनमा असर पर्ने देखिएको छ ।
३. बारामा ११ लाख ४६ हजारका भन्सार छलीका कपडा र तीन मोटरसाइकल बरामद, एक पक्राउ
बारा । बारामा सशस्त्र प्रहरीले ११ लाख ४६ हजार रुपैयाँ बराबरका भन्सार छलीका कपडा तथा तीनवटा मोटरसाइकल बरामद गरेको छ । घटनामा संलग्न रहेको आशङ्कामा एक जनालाई नियन्त्रणमा लिइएको छ ।
सुवर्ण गाउँपालिका–३, पचगछियानजिकको सीमा क्षेत्रमा भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीको गस्ती टोलीले उक्त सामान बरामद गरेको हो ।
बरामद गरिएका कपडा तथा मोटरसाइकल आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको छ ।
४. रौतहटमा स्कुल बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु
रौतहट । रौतहटमा स्कुल बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ ।
चन्द्रपुर नगरपालिका–८, मोतीपुरस्थित भित्री सडकखण्डमा बुधबार बिहान मुन लाइट एकेडेमीको स्कुल बसले ठक्कर दिँदा स्थानीय सिकेन्द्र चौधरीकी दुई वर्षीया छोरी महिमा चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ ।
५. टिकटकमा धम्कीपूर्ण भिडियो पोस्ट गरेको आरोपमा धनुषाका २० वर्षीय युवक पक्राउ
धनुषा । सामाजिक सञ्जाल टिकटकमार्फत हिंसा भड्काउने तथा धम्कीपूर्ण भिडियो पोस्ट गरेको आरोपमा धनुषा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा लक्ष्मीनिया गाउँपालिका–१ का २० वर्षीय राजु यादव रहेका छन् । प्रहरीका अनुसार यादवले विभिन्न व्यक्ति, समुदाय तथा सङ्गठनको मानमर्दन हुने गरी गालीगलौज र धम्कीपूर्ण भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेका थिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।