सप्तरीमा लागुऔषध गाँजा तस्करीसम्बन्धी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुरुङ्गा नगरपालिकाका नगरसभापति मोहम्मद साबिर अली पक्राउ परेका छन् ।
अलीलाई बुधबार इलाका प्रहरी कार्यालय भेडिया, सप्तरी र इलाका प्रहरी कार्यालय लहान, सिरहाको संयुक्त प्रहरी टोलीले सुरुङ्गा नगरपालिका–४ स्थित कदमाहा बजारबाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक (एसपी) रुपक खड्काका अनुसार सुरुङ्गा नगरपालिका–५ निवासी ४७ वर्षीय अलीविरुद्ध उक्त मुद्दामा खोजतलास गर्न इलाका प्रहरी कार्यालय लहानको अपराध नियन्त्रण तथा अनुसन्धान शाखाले १५ फागुन २०८१ र २६ पुस २०८२ मा पत्राचार गरेको थियो । सोही आधारमा खोजतलास गर्ने क्रममा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घटनाको सुरुवात २९ मंसिर २०८१ मा भएको सवारी दुर्घटनासँग जोडिएको छ । सिरहाको धनगढीमाई नगरपालिका–१० स्थित जिरोमाइलमा पूर्व–पश्चिम राजमार्गमा ना.३ ख ७५९१ नम्बरको ट्रक र बा.८ च ९९६३ नम्बरको कार एकआपसमा ठोक्किएका थिए ।
दुर्घटनापछि कारमा खानतलासी गर्दा पाँचवटा पोकामा राखिएको एक क्विन्टल ३० किलो गाँजा बरामद भएको थियो । घटनापछि प्रहरीले ट्रक चालक र कार नियन्त्रणमा लिए पनि कार चालक फरार भएका थिए ।
उक्त घटनामा अली फरार रहेको प्रहरी अनुसन्धानबाट खुलेपछि उनको खोजी भइरहेको थियो । पक्राउ परेका अलीमाथि थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।