बाराका विभिन्न सीमा नाकाबाट भन्सार छली गरी नेपाल भित्र्याइएका करिब नौ लाख १० हजार रुपैयाँ मूल्यका सामान सशस्त्र प्रहरीले बरामद गरेको छ । सोही क्रममा एक भारतीय नागरिकलाई समेत नियन्त्रणमा लिइएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हेडक्वार्टर बाराका अनुसार जिल्लाका विभिन्न इकाइबाट परिचालित टोलीले सीमा क्षेत्रमा गरेको निगरानी तथा जाँचका क्रममा हरियो तरकारी, जुत्ता–चप्पल, तयारी पोसाक, लत्ताकपडा, सुर्तीजन्य सामग्री, मोटरसाइकललगायतका सामान बरामद गरेको हो ।
बीओपी कवहीगोठ, बरैनिया र गोलागञ्जबाट खटिएका सशस्त्र प्रहरीका टोलीले विभिन्न स्थानमा गरेको जाँच तथा निगरानीका क्रममा भन्सार प्रक्रिया पूरा नगरी नेपाल भित्र्याइएका सामानसँगै पटाकासमेत बरामद गरेका छन् ।
सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हेडक्वार्टर बाराका गणपति सशस्त्र प्रहरी उपरीक्षक विशाल सिलवालका अनुसार सीमाक्षेत्रमा हुने अवैध ओसारपसार तथा भन्सार छली नियन्त्रण गर्न मातहतका इकाइलाई सक्रिय बनाइएको छ ।
यसैबीच, भारतको बिहार राज्यअन्तर्गत पूर्वी चम्पारण जिल्लाको मोतिहारी क्षेत्रस्थित घोडासहन ग्रामपञ्चायतका ३० वर्षीय सिकेन्द्र कुशवाहालाई नियन्त्रणमा लिइएको छ ।
सामानसहित पक्राउ परेका कुशवाहालाई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन वीरगञ्ज भन्सार कार्यालयमा बुझाउने तयारी गरिएको सशस्त्र प्रहरी बलका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक विक्रममणि अधिकारीले जानकारी दिए ।
सीमा क्षेत्रमा हुने अवैध कारोबारले सरकारी राजस्वमा प्रत्यक्ष असर पार्ने भएकाले भन्सार छली, अवैध ओसारपसार तथा प्रतिबन्धित वस्तुको कारोबार नियन्त्रणलाई प्राथमिकतामा राखिएको सशस्त्र प्रहरीले जनाएको छ। यसका लागि सीमा क्षेत्रमा नियमित गस्ती, निगरानी तथा जाँचलाई तीव्र बनाइएको छ ।