धनुषा र सिराहा जिल्लालाई जोड्ने हुलाकी राजमार्गअन्तर्गत कमला नदीको पुलबाट आगामी मङ्सिर अन्तिम सातादेखि यातायात सञ्चालन गर्ने तयारी गरिएको छ। बाढीका कारण पुलका पिल्लर भासिएपछि लामो समयदेखि अवरुद्ध रहेको पुल सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको हो ।
हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरधामका प्रमुख एवं सिनियर डिभिजनल इन्जिनियर कृष्णकुमार महतोका अनुसार पुलका क्षतिग्रस्त पिल्लर पुनर्निर्माण तथा सबलीकरणको काम तीव्र गतिमा भइरहेको छ । निर्माण कार्य अन्तिम चरणमा पुगेकाले मङ्सिर अन्तिम सातादेखि पुल सञ्चालन गर्ने लक्ष्य राखिएको उहाँले बताउनुभयो ।
कमला पुल निर्माणका लागि २०६८ सालमा पप्पु जेभी लुम्बिनीसँग सम्झौता गरी निर्माण सुरु गरिएको थियो। निर्माण सम्पन्न भएपछि २०७८ सालमा पुल सञ्चालन गर्ने तयारी गरिएको थियो। तर, २०७८ असार १७ गते कमला नदीमा आएको बाढीका कारण पुलका दुईवटा पिल्लर भासिएपछि सञ्चालनमा आउन सकेको थिएन ।
पिल्लर भासिएपछि निर्माण कम्पनी र बिमा कम्पनीबीचको विवादका कारण मर्मत तथा पुनर्निर्माणको काम अघि बढ्न सकेको थिएन। अहिले निर्माण कम्पनीको सक्रियता, हुलाकी राजमार्ग निर्देशनालयको निरन्तर प्रयास तथा धनुषा र सिराहाका जनप्रतिनिधिको पहलमा कामले गति लिएको महतोले बताउनुभयो ।
निर्माण गरिरहेको पप्पु लुम्बिनी जेभी काठमाडौंले भासिएका दुईवटा पिल्लरमध्ये एउटालाई सबलीकरण गरेको छ भने बढी भासिएको पिल्लरको स्थानमा नयाँ दुईवटा पिल्लर निर्माण गरेको छ ।
महतोका अनुसार कात्तिक महिनादेखि नै पुल सञ्चालन गर्ने लक्ष्य राखिएको थियो। तर, भदौमा आएको बाढीका कारण निर्माण कार्य प्रभावित भएपछि सञ्चालनको समय मङ्सिर अन्तिम सातासम्म सारिएको हो ।
पुल निर्माणस्थलमा खटिएका निर्माण कम्पनीका प्रतिनिधि सूर्यप्रकाश शर्माले पनि काम तीव्र गतिमा भइरहेको र अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।
पुल सञ्चालन भएपछि आवागमन सहज हुने अपेक्षा
कमला पुल सञ्चालनमा आउने तयारीसँगै धनुषा र सिराहासहित आसपासका जिल्लाका बासिन्दा उत्साहित भएका छन्। पुल सञ्चालनमा आएपछि मधेश प्रदेशका विभिन्न जिल्लाबीचको आवागमन सहज हुने अपेक्षा गरिएको छ ।
कमला नगरपालिकाका नगरप्रमुख विशेश्वर यादवका अनुसार पुल सञ्चालनमा आएपछि सिराहा र सप्तरीका बासिन्दालाई मधेश प्रदेशको राजधानी जनकपुरधाम आउजाउ गर्न सहज हुनेछ। त्यसैगरी, धनुषाका बासिन्दालाई सप्तरीको राजविराज पुग्न पनि सजिलो हुनेछ ।
लामो समयदेखि अलपत्र रहेको कमला पुल सञ्चालनमा आएपछि हुलाकी राजमार्ग हुँदै हुने यातायात, स्थानीय आवागमन तथा आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।