सामाजिक सञ्जालमार्फत हिंसा भड्काउने, गालीगलौज गर्ने तथा विभिन्न व्यक्ति, समुदाय र सङ्गठनको मानमर्दन हुने सामग्री पोस्ट गरेको आरोपमा धनुषा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनुषाको लक्ष्मीनिया गाउँपालिका–१ निवासी करिब २० वर्षीय ‘क्रिमिनल’ भनिने राजु यादव रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रहरीका अनुसार यादवले सामाजिक सञ्जालमा उत्तेजित पार्ने सामग्री, गालीगलौज तथा आपत्तिजनक शब्द प्रयोग गरी पोस्ट गर्ने र धम्की दिने किसिमका सामग्री अपलोड गरेको आरोप छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार उनलाई २०८३ असार २७ गते राति करिब ११ बजे जनकपुरधाम उपमहानगरपालिका–९ बाट नियन्त्रणमा लिइएको हो ।
यसैगरी, सामाजिक सञ्जालको दुरुपयोग गरी विभिन्न व्यक्ति, समुदाय तथा सङ्गठनको मानमर्दन हुने सामग्री पोस्ट गर्ने, गालीगलौज गर्ने तथा धम्की दिने किसिमका फोटो र भिडियो सार्वजनिक गरेको आरोपमा अन्य चार जनामाथि समेत अनुसन्धान तथा कानुनी कारबाही भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले सामाजिक सञ्जाल प्रयोग गर्दा प्रचलित कानुनको पालना गर्न, अरूको मानमर्दन हुने तथा हिंसा भड्काउने सामग्री पोस्ट नगर्न र अनलाइन माध्यमबाट धम्की दिने वा आपत्तिजनक गतिविधि नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
सामाजिक सञ्जालको दुरुपयोग गरी हिंसा भड्काउने, धम्की दिने तथा अरूको प्रतिष्ठामा आँच पुर्याउने गतिविधि नगर्न प्रहरीले सचेत गराएको छ ।