पर्साको पकाहामैनपुर गाउँपालिका–२ मधुवनीमा नाला निर्माणका क्रममा सडक अवरुद्ध भएपछि स्थानीयवासीले निर्माण सामग्री तथा मेसिन हटाएर आवागमन सहज बनाउन माग गरेका छन् ।
पूर्वाधार विकास कार्यालयको बजेटबाट भइरहेको नाला निर्माणका क्रममा सडकमा माटो, ग्राभेल, गिट्टी, बालुवा तथा निर्माणमा प्रयोग हुने मेसिन राखिएपछि सर्वसाधारणलाई आवतजावत गर्न समस्या भएको स्थानीयको गुनासो छ ।
स्थानीयवासीका अनुसार सडकमा निर्माण सामग्री थुपारिँदा दैनिक आवागमन प्रभावित भएको छ । निर्माण कार्यलाई व्यवस्थित नगर्दा अनावश्यक सास्ती भोग्नुपरेको उनीहरूको भनाइ छ ।
स्थानीय चन्द्रिकाप्रसाद पटेलले सडकमा थुपारिएका निर्माण सामग्री तथा मेसिन तत्काल हटाएर आवागमन सहज बनाउन माग गरिएको बताए । निर्माण कार्यमा लापरबाही भएको भए सम्बन्धित पक्षमाथि छानबिन गरी आवश्यक कारबाही गर्नुपर्ने उनको माग छ ।
यस विषयमा पटेललगायत स्थानीयवासीले जिल्ला प्रशासन कार्यालय, पर्सामा निवेदन दिएका छन् । निवेदनमार्फत सडकमा राखिएका निर्माण सामग्री र मेसिन हटाउन तथा निर्माण कार्यमा भएको भनिएको लापरबाहीबारे छानबिन गर्न आग्रह गरिएको पटेलले जानकारी दिए ।
स्थानीयवासीले विकास निर्माणका आयोजना जनताको सुविधाका लागि सञ्चालन गरिने भएकाले निर्माणका क्रममा सर्वसाधारणको दैनिक जीवन प्रभावित हुन नहुने बताएका छन् । नाला निर्माण गर्दा सडकमा अवरोध नहुने गरी निर्माण सामग्रीको व्यवस्थापन गर्नुपर्ने र कामलाई व्यवस्थित रूपमा अघि बढाउनुपर्ने उनीहरूको माग छ ।
त्यस्तै, निर्माणस्थलमा सर्वसाधारणको सुरक्षित आवागमन सुनिश्चित गर्न सम्बन्धित निकायले ध्यान दिनुपर्ने स्थानीयको भनाइ छ । उनीहरूले जिल्ला प्रशासन कार्यालय, पर्सालाई निवेदनमाथि आवश्यक पहल गरी सडक अवरोध हटाउन र निर्माण कार्यलाई सुरक्षित तथा सर्वसाधारणमैत्री बनाउन माग गरेका छन् ।
स्थानीयवासीले सम्बन्धित निकायबाट निर्माणस्थलको अनुगमन गरी समस्या समाधान गर्नसमेत आग्रह गरेका छन् ।