धनुषाको धनौजी गाउँपालिका–३ का २३३ स्ववासी परिवारले नापजाँच सम्पन्न भएको करिब ११ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् ।
साविक झोझी कटैया गाविसका वडा नं. १ देखि ९ सम्मका क्षेत्रमा बसोबास गर्दै आएका ती परिवारले लामो समयपछि आफ्नो जग्गामाथिको कानुनी स्वामित्व प्राप्त गरेका हुन् । नापी कार्यालय धनौजीले आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरी उनीहरूलाई लालपुर्जा वितरण गरेको हो ।
उक्त क्षेत्रमा जग्गाको नापजाँच कार्य २०७२ सालमै सम्पन्न भएको थियो । तर, नापनक्साको काम सकिए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लालपुर्जा वितरण हुन सकेको थिएन । लामो समयदेखि रोकिएको प्रक्रिया अघि बढेसँगै हाल २३३ परिवारले जग्गाधनी प्रमाण पुर्जा प्राप्त गरेका हुन् ।
लालपुर्जा प्राप्त भएपछि स्थानीय बासिन्दाको जग्गामाथिको कानुनी स्वामित्व औपचारिक रूपमा स्थापित भएको छ । यसले जग्गासम्बन्धी विवाद समाधान गर्न तथा सम्पत्तिको स्वामित्व प्रमाणित गर्न सहज हुने अपेक्षा गरिएको छ ।
त्यस्तै, कानुनी प्रक्रिया पूरा गरी जग्गा बैंक तथा वित्तीय संस्थामा धितो राखेर ऋण लिन र अन्य आर्थिक कारोबार गर्नसमेत सहज हुने विश्वास गरिएको छ । लामो समयदेखि लालपुर्जाको प्रतीक्षामा रहेका परिवारले जग्गाको कानुनी स्वामित्व प्राप्त गरेपछि उनीहरूलाई आर्थिक तथा सामाजिक रूपमा समेत लाभ पुग्ने अपेक्षा गरिएको छ ।