दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै धनुषा प्रहरीले जिल्लाभर सुरक्षा निगरानी बढाएको छ । चाडपर्वका बेला हुन सक्ने चोरी, लुटपाट, लागुऔषध कारोबार तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरीले १ हजार २११ जना सुरक्षाकर्मी परिचालन गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रुपेश खड्का आफैँ सडकमा खटिएर सवारीसाधन जाँच तथा सुरक्षा व्यवस्थाको अनुगमन गरिरहेका छन् । उनले दिउँसोदेखि रातिसम्म प्रहरी टोलीसँगै खटिएर मादक पदार्थ तथा लागुऔषध सेवन गरी सवारी चलाउने, हेल्मेट नलगाउने र स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने मोटरसाइकलमाथि निगरानी बढाएका छन् ।
एसपी खड्काका अनुसार चाडपर्वलक्षित विशेष सुरक्षा योजना लागू भएको दुई दिनमै चर्को आवाज निकाल्ने गरी स्वरूप परिवर्तन गरिएका एक सयभन्दा बढी मोटरसाइकल नियन्त्रणमा लिइएको छ। साँझदेखि राति अबेरसम्म विभिन्न चोकमा प्रहरीको उपस्थिति बढाएर सवारी जाँच र शंकास्पद गतिविधिमाथि निगरानी भइरहेको उनले बताए ।
‘चाडपर्वमा कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन हामी सक्रिय भएका छौँ। पैदल, साइकल र मोटरसाइकल गस्ती बढाउनुका साथै विभिन्न स्थानमा थप सुरक्षाकर्मी परिचालन गरेका छौँ,’ एसपी खड्काले भने ।
सवारी जाँचका क्रममा नियम उल्लङ्घन गर्नेलाई कारबाही गर्नुका साथै सम्भावित दुर्घटनाको जोखिमबारे सम्झाउने र सचेत गराउने कामसमेत भइरहेको प्रहरीले जनाएको छ । बुधबार जिल्ला प्रशासन कार्यालय धनुषाअगाडि एसपी खड्का आफैँ सवारीसाधन रोक्दै जाँचमा खटिएका थिए । उनले हेल्मेट नलगाई स्कुटर चलाइरहेकी एक महिलालाई रोकेर हेल्मेट प्रयोग नगर्दा दुर्घटनामा टाउकोमा गम्भीर चोट लाग्न सक्ने जोखिमबारे सम्झाएका थिए ।
सामाजिक सञ्जालबाट हुने अपराधमाथि पनि निगरानी
सडक सुरक्षा जाँचसँगै सामाजिक सञ्जालमार्फत हुने अपराध नियन्त्रणलाई पनि प्रहरीले प्राथमिकतामा राखेको छ। एसपी खड्काका अनुसार सामाजिक सञ्जालबाट हुने अपराधमा संलग्न भएको आशंकामा १८ जनाको विवरण तयार पारिएको छ। तीमध्ये चार जनालाई नियन्त्रणमा लिएर मुद्दा चलाइएको र अन्यको खोजी भइरहेको उनले बताए।
प्रहरीको निगरानीकै क्रममा केही दिनअघि पुरानो घरायसी रिसइबीका कारण चक्कु प्रहार गरी हत्या गरेको आरोपमा एक जनालाई घटनाको केही समयमै पक्राउ गर्न सफल भएको पनि एसपी खड्काले जानकारी दिए ।
विभिन्न टोलीमा प्रहरी परिचालन
धनुषा प्रहरीले चाडपर्वको सुरक्षा व्यवस्थाका लागि १ हजार २११ जना सुरक्षाकर्मीलाई विभिन्न टोलीमा विभाजन गरी परिचालन गरेको छ ।
प्रहरीका अनुसार पिकेट गस्तीमा ७०, पैदल गस्तीमा ४६, बजार अनुगमनमा सात, स्वीप अपरेसनमा सात, विपद् प्रतिकार्यमा १५ र सवारीसाधनमार्फत मोबाइल गस्तीमा १३ टोली खटाइएको छ । लामो दूरीका सवारीसाधन जाँच गर्न दुई स्थानमा व्यवस्था मिलाइएको छ भने लालगढमा लामो दूरीका चालकलाई लक्षित गरी विश्राम केन्द्रसमेत सञ्चालनमा ल्याइएको छ ।
राजमार्गमा दैनिक सवारी सुरक्षा जाँचको व्यवस्था गरिएको प्रहरीले जनाएको छ। सीमावर्ती क्षेत्र, बैंक तथा वित्तीय संस्था, सुनचाँदी पसल र मोटरसाइकल चोरीका घटना हुन सक्ने स्थानमा पनि विशेष निगरानी बढाइएको छ ।
चाडपर्वका बेला लागुऔषधको ओसारपसार र सेवन बढ्न सक्ने भएकाले त्यसलाई नियन्त्रण गर्न प्रहरी सक्रिय रहेको एसपी खड्काले बताए ।
प्रहरीले नागरिकलाई सवारी नियम पालना गर्न, हेल्मेट प्रयोग गर्न, मादक पदार्थ सेवन गरेर सवारी नचलाउन र कुनै शंकास्पद गतिविधि देखिएमा प्रहरीलाई जानकारी गराउन आग्रह गरेको छ ।