प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने तयारी भइरहेको बताएका छन् । प्रहरीको क्षमता अभिवृद्धि, आधुनिक प्रविधिको प्रयोग र पूर्वाधार विकासलाई सरकारले प्राथमिकतामा राखेको उनको भनाइ छ ।
७१औँ प्रहरी दिवसका अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले प्रहरीलाई विपद् व्यवस्थापन, आधुनिक प्रविधि र तालिमका क्षेत्रमा थप सक्षम बनाउने सरकारको प्रतिबद्धता व्यक्त गरेका हुन्। प्रधानमन्त्रीको सन्देश प्रहरी महानिरीक्षक कार्कीले कार्यक्रममा वाचन गरेका थिए ।
प्रधानमन्त्री शाहले नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्नुका साथै साइबर तथा वित्तीय अपराध नियन्त्रण र कृत्रिम बौद्धिकता (एआई) सहित आधुनिक सुरक्षा प्रणालीको उपयोग बढाउने कार्यलाई प्राथमिकता दिइएको बताएका छन् ।
आन्तरिक शान्ति र सुरक्षा कायम गर्न प्रहरीको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उनले सङ्कटका बेला धैर्य, सही निर्णय र कुशल
कार्यसम्पादनमार्फत जनताको विश्वास कायम राख्नुपर्नेमा जोड दिएका छन् ।
प्रहरीको क्षमता अभिवृद्धिमा सहयोग गर्ने मित्रराष्ट्र तथा विकास साझेदारप्रति धन्यवाद व्यक्त गर्दै प्रधानमन्त्री शाहले प्रहरी संगठनलाई थप सक्षम बनाउन आवश्यक सहयोग र पूर्वाधार विकासमा सरकार प्रतिबद्ध रहेको सन्देश दिएका छन् ।