नेपाल र मलेसियाबीच श्रमिक भर्नासम्बन्धी विवाद चर्किरहेका बेला नेपाल स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष कैलाश खड्कासहित चार स्वास्थ्य व्यवसायी पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनीहरूलाई बुधबार साँझ काठमाडौं र ललितपुरबाट पक्राउ गरेको हो ।
सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अनुपमशमशेर जबराले खड्कासहित चार जनालाई पक्राउ गरिएको पुष्टि गरेका छन् । उनका अनुसार श्रम स्वीकृतिका लागि गरिने स्वास्थ्य परीक्षणसम्बन्धी उजुरीमाथि अनुसन्धान गर्न उनीहरूलाई पक्राउ गरिएको हो ।
‘श्रम स्वीकृतिका लागि मेडिकल गराउनेसम्बन्धी विषयमा परेको उजुरीपछि अनुसन्धानका लागि पक्राउ गरिएको हो,’ जबराले भने, ‘थप विवरण विज्ञप्तिमार्फत सार्वजनिक गर्छौं । ’
मलेसियाले छनोट गरेका २५ वटा म्यानपावर कम्पनीका सञ्चालकविरुद्ध वैदेशिक रोजगार विभागले पक्राउ पुर्जी जारी गरेपछि नेपाल–मलेसियाबीचको श्रमिक भर्नासम्बन्धी विवाद थप पेचिलो बनेको छ। यही विवाद समाधानका लागि यसअघि प्रधानमन्त्री वालेन्द्र शाह र मलेसियाका प्रधानमन्त्री तथा दुवै देशका श्रममन्त्रीबीच टेलिफोन संवादसमेत भएको थियो। संवादमार्फत समस्या समाधान गर्ने प्रतिबद्धता जनाइएको थियो ।
नेपाल र मलेसियाबीचको श्रम सम्झौताअनुसार नेपालमा स्वास्थ्य परीक्षण गरेर श्रमिकलाई वैदेशिक रोजगारीमा पठाइँदै आएको छ। नेपालमा स्वास्थ्य परीक्षण गर्दा ‘फिट’ ठहरिएका श्रमिक गन्तव्य मुलुकमा पुगेर पुनः परीक्षण गर्दा ‘अनफिट’ भएमा कानुनबमोजिम तोकिएको लागत शुल्क स्वास्थ्य व्यवसायीमार्फत उपलब्ध गराउने व्यवस्था छ ।
यसका लागि श्रम मन्त्रालयमा स्वास्थ्य मन्त्रालयका विशेषज्ञको नेतृत्वमा विशेषज्ञ समिति रहेको छ। तर, पक्राउ परेका स्वास्थ्य व्यवसायीविरुद्ध स्वास्थ्य परीक्षणमा ‘अनफिट’ ठहरिएर फर्किएका श्रमिकले क्षतिपूर्ति माग गर्दै श्रम मन्त्रालयमा उजुरी दिएको विवरण भने सार्वजनिक भएको छैन ।
पक्राउ परेका व्यवसायीमाथि लागेको आरोप र अनुसन्धानको विस्तृत विवरण प्रहरीले सार्वजनिक गर्न बाँकी छ ।