भारतबाट भन्सार छली गरी नेपाल भित्र्याउँदै गरेको अवस्थामा नवलपरासीबाट करिब १५ लाख रुपैयाँ मूल्यको मदिरा बरामद भएको छ। प्रहरीले सीमावर्ती सुस्ता गाउँपालिका–५ स्थित महलबारीबाट ७४२ बोतल ओल्ड मङ्क रम बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) मदन थापाका अनुसार बरामद मदिराको मूल्य १४ लाख ८४ हजार रुपैयाँ कायम गरिएको छ । ७५० मिलिलिटरका प्रत्येक बोतलको मूल्य दुई हजार रुपैयाँका दरले गणना गरिएको प्रहरीले जनाएको छ ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय तथा बेलाटारी र रामनगर प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले ११ वटा ठूला झोलामा राखिएको अवस्थामा मदिरा बरामद गरेको हो। बरामद मदिरालाई आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय पठाइएको डीएसपी थापाले जानकारी दिए ।
प्रहरीका अनुसार मदिरा बरामद भए पनि त्यसमा संलग्न व्यक्ति फेला परेका छैनन्। घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
चाडपर्व नजिकिँदै जाँदा जिल्लाका सीमावर्ती नाकाबाट भारतबाट नेपालतर्फ मात्र नभई नेपालबाट भारततर्फ पनि अवैध ओसारपसार बढेको स्थानीयले बताएका छन् ।
यता प्रहरीले अवैध ओसारपसार नियन्त्रण गर्न सीमावर्ती क्षेत्रमा निगरानी र गस्ती बढाइएको दाबी गरेको छ ।