सर्लाहीको ब्रह्मपुरी गाउँपालिकाका अध्यक्ष रामपदारथ साहको बुधबार निधन भएको छ । ब्रह्मपुरी गाउँपालिका –२ घर भएका ८५ वर्षीय साहको बुधबार बिहान काठमाडौँमा निधन भएको हो । अस्वस्थ भएपछि उहाँ उपचारका लागि काठमाडौँ जानुभएको थियो ।
ब्लड अस्पताल जावालाखेल ललितपुरमा उपचारपछि उहाँ चिकित्सकको सल्लाहमा घर फर्किने तयारीमा रहेकै बेला निधन भएको हो । उहाँको बिहान कोठामै निधन भएको छोरा दिलिप साहले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बुवा बिहान प्रेस भएर आज नै घर फर्कने तयारीमा हुनुहुन्थ्यो ।”
मङ्गलबार हवाइजहाजको टिकट नपाएपछि बुधबार फर्कने तयारीमा रहेका गाउँपालिका अध्यक्ष साहको निधन भएको हो । साहको पार्थिव शरीरलाई काठमाडौँबाट अहिले घर ल्याइँदै छ ।
साहलाई केही समयदेखि अप्लाष्टिक एनिमिया (दुर्लभ रगत सम्वन्धी समस्या) देखिएको थियो । छोरा दिलित साहका अनुसार गाउँपालिका अध्यक्ष साहको गत जेठदेखि प्लेट रेट पनि घटेको थियो । साह २०७९ को निर्वाचनमा नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।