राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पूर्व–पश्चिम महेन्द्र राजमार्गको कमला–ढल्केबर–पथलैया सडकखण्ड विस्तारको काम सुस्त बनेको छ ।
सडक विस्तारका लागि निर्धारित समयको ६८ प्रतिशत अवधि बितिसक्दा निर्माण कार्य भने करिब ३० प्रतिशत मात्रै सम्पन्न भएको छ । धनुषाको कमला पुलदेखि सर्लाहीको बागमती पुलसम्मको ७४.७५ किलोमिटर सडकलाई तीन वर्षभित्र विस्तार गर्ने लक्ष्यसहित तीन खण्डमा ठेक्का लगाइएको हो । बजार क्षेत्रमा छ लेन र अन्य क्षेत्रमा चार लेनको सडक निर्माण गर्ने योजना रहे पनि कामले अपेक्षित गति लिन सकेको छैन ।
कमला–ढल्केबर–पथलैया सडक आयोजनाका प्रमुख तथा सिनियर डिभिजनल इन्जिनियर राजेशकुमार दासका अनुसार सडक विस्तारको काम निर्धारित समयभन्दा ३० प्रतिशतभन्दा बढी पछाडि परेको छ। उहाँले यही गतिमा काम अघि बढेमा तीन वर्षभित्र आयोजना सम्पन्न गर्न कठिन हुने बताउनुभयो। उहाँका अनुसार निर्माण सम्पन्न गर्न म्याद थप्नुपर्ने अवस्था देखिएको छ ।
तीन खण्डमा सडक विस्तारको काम
आयोजनाअन्तर्गत पहिलो खण्ड कमला पुलदेखि बडहरीसम्मको २२ किलोमिटर सडक विस्तारको ठेक्का भारतको इकेके इन्फ्रास्ट्रक्चर लिमिटेडले पाएको छ । दोस्रो खण्ड बडहरीदेखि सर्लाहीको फूलजोरसम्मको २९ किलोमिटर र तेस्रो खण्ड फूलजोरदेखि बागमती पुलसम्मको २३ किलोमिटर सडक विस्तारको जिम्मा चिनियाँ कम्पनी एसडब्लुइजी र नेपाली कम्पनी रसुवा कन्स्ट्रक्सनले पाएका छन्।
आयोजनाका अनुसार धनुषा खण्डमा ३० प्रतिशत, महोत्तरी खण्डमा २८ प्रतिशत र सर्लाही खण्डमा ३६ प्रतिशत काम सम्पन्न भएको छ। पुल तथा कल्भर्ट निर्माणका कारण समग्र प्रगति केही देखिए पनि सडक निर्माणको काम भने निकै कम भएको आयोजना प्रमुख दासले बताउनुभयो।
विद्युत्का पोल र निर्माण सामग्री अभावले समस्या
सडक विस्तारमा ढिलाइ हुनुका विभिन्न कारण रहेको आयोजनाले जनाएको छ। नेपाल विद्युत् प्राधिकरणले सडक क्षेत्रका करिब तीन हजार विद्युत् पोल स्थानान्तरण गर्नुपर्ने भए पनि हालसम्म करिब एक हजार पाँच सय पोल मात्रै सारिएका छन्। यसले सडक निर्माणको काममा अवरोध सिर्जना गरेको आयोजनाको भनाइ छ।
त्यस्तै, निर्माण व्यवसायीहरूले माटो अभाव, निर्माण सामग्रीको मूल्यवृद्धि, कामदारको कमी, रुख कटानमा ढिलाइ तथा समयमै विद्युत्का पोल स्थानान्तरण नहुँदा काम प्रभावित भएको बताउँदै आएका छन्।
दुई महिनामा तीन प्रतिशत मात्रै प्रगति
निर्माणाधीन सडकको निरीक्षणका लागि बिहीबार पुगेका प्रतिनिधिसभाको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले पछिल्लो दुई महिनामा सडक विस्तारको प्रगतिमा खासै सुधार नदेखिएको बताउनुभयो।
उहाँका अनुसार साउन अन्तिम सातादेखि असोज अन्तिम सातासम्मको अवधिमा सडक विस्तारको काममा तीन प्रतिशत मात्रै प्रगति भएको छ। निर्माणमा भइरहेको ढिलाइका कारण सर्वसाधारणले थप सास्ती बेहोर्नुपर्ने अवस्था देखिएको उहाँले बताउनुभयो।
खरिद ऐन र बैंक ऐन संशोधन तथा मूल्य समायोजनसम्बन्धी कार्ययोजना ल्याउँदासमेत सडक विस्तारले गति लिन नसकेकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो।
सडक निरीक्षणमा सहभागी प्रतिनिधिसभा सदस्य राजकिशोर महतोले पनि निर्माणमा अवरोध हुन नदिन विद्युत्का पोल स्थानान्तरणलगायत विषयमा नेपाल विद्युत् प्राधिकरणसँग समन्वय गरिरहेको बताउनुभयो।
निर्धारित समयभित्र सडक विस्तार सम्पन्न नहुँदा स्थानीय बासिन्दा तथा राजमार्ग प्रयोगकर्ताले थप कठिनाइ भोग्नुपर्ने देखिएको छ। निर्माण कार्यलाई गति दिन सम्बन्धित निकायबीच प्रभावकारी समन्वय र निर्माणमा देखिएका अवरोधको समयमै समाधान आवश्यक देखिएको छ।