बाराको जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गत सिमरा बजार क्षेत्रमा दर्जनौं स्थानीयवासीलाई टोकेर त्रास फैलाएको कुकुरलाई सोमबार साँझ नियन्त्रणमा लिइएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं। २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ र स्थानीय युवाहरूको घण्टौंसम्मको निरन्तर प्रयासपछि उक्त कुकुर नियन्त्रणमा आएको हो ।
कुकुरलाई समात्ने क्रममा वडाध्यक्ष श्रेष्ठ आफैं समेत घाइते भएका छन् । सिमरा चोक आसपासका सर्वसाधारणलाई टोक्दै नेपाल विद्युत प्राधिकरणको सिमरा वितरण केन्द्र कार्यालयतर्फ जाँदै गरेको अवस्थामा वडाध्यक्ष श्रेष्ठले कुकुरलाई समात्न खोज्दा उनको हातमा टोकेर चोट लागेको हो ।
उक्त कुकुरको आतङ्कले जीतपुरसिमरा वडा नं। १ र २ का बासिन्दा दिनभर भयभीत बनेका थिए । सोमबार बिहानै मन्दिरमा पूजा गर्न गएकी जीतपुरसिमरा(२ की मन्दिरा रिजाललाई उक्त कुकुरले एक्कासी आक्रमण गरी ओठमा गम्भीर चोट पुर्याएको थियो । उनलाई प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं पठाइएको छ ।
यसअघि पनि सोही कुकुरले जीतपुरसिमरा(२ की तीन वर्षीया बालिका आयंका तामाङलाई आक्रमण गरी ओठ र चिउँडोको भाग लुछेर गम्भीर घाइते बनाएको थियो । घाइते बालिकाको उपचार भइरहेको छ ।
बालिकापछि पुनस् रिजालमाथि आक्रमण भएपछि स्थानीय युवा तथा नगर प्रहरीको टोली बिहानैदेखि कुकुरको खोजी र नियन्त्रणमा जुटेको थियो । दिनभरको प्रयासका बाबजुद नियन्त्रणबाहिर रहेको कुकुरले सोमबार साँझ पुनः केही समयभित्रै सात जनालाई टोकेपछि सिमरा बजार क्षेत्रमा त्रास फैलिएको थियो ।
आतंक मच्चाएको कुकुरलाई पछ्याउदै वडाध्यक्ष श्रेष्ठ र स्थानीय युवाहरूले नियन्त्रणमा लिएपछि स्थानीयले राहतको महसुस गरेका छन् । कुकुरले पुर्याउन सक्ने चोटको प्रवाह समेत नगरी नियन्त्रणमा लिएका वडाध्यक्षको यतिबेला चौतर्फी प्रशंसा भइरहेको छ ।