मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले प्रदूषणको चपेटामा परेको सिर्सिया नदी सफाइको सुरुवात वीरगञ्ज महानगरपालिकाबाट नै गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।
वीरगञ्ज महानगर अन्तर्गतको सिर्सिया नदी निरीक्षण भ्रमणका क्रममा उनले वीरगञ्ज महानगरकै ढल सिर्सिया नदीमा मिसिने अवस्थाले नदीलाई प्रदूषित बनाएको बताए । मुख्यमन्त्री सिंहले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसँगको भेटका क्रममा स्पष्ट रूपमा राज्यले चाह्यो भने सिर्सिया सफा हुन सक्छ, तर शुरुवात महानगरबाटै हुनुपर्ने बताएकाे प्रतिक्रिया दिएका छन् ।
उनले थपे, “अघिल्लो कार्यकालका मेयर विजय कुमार सरावगीको पालामा शहरी वातावरणीय परियोजनामार्फत वीरगञ्जको ढल सिधै सिर्सियामा मिसाइएको हो। अब नयाँ नेतृत्वले त्यसको जिम्मेवारी लिएर सुधारको पहल सुरु गर्नुपर्छ ।”
मेयरको ‘टाउको दुखाइ’
वीरगञ्ज महानगरको अधिकांश नाला तथा ढल प्रणाली सिधै सिर्सिया नदीमा मिसिन्छ । नदीमा फोहोर पानी, फोहोर र औद्योगिक अपशिष्टको उच्च मात्रा पुगेकाले पानीको रंग, गन्ध र बहाव सबै अत्यधिक प्रभावित भएको देखिन्छ । हाल वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहका लागि सिर्सिया नदीकाे सफाइ टाउकाे दुखाइ बनेको छ । एकातर्फ जनदबाब, अर्कोतर्फ प्रदेश सरकारको निर्देशनले ढल व्यवस्थापन गर्नुपर्ने चुनाैती थपिएकाे छ ।
सम्भावना छ, इच्छाशक्ति चाहिन्छ
मुख्यमन्त्री सिंहले सिर्सिया नदीको सफाइ ‘सम्भव’ रहेको दोहोर्याए । उनले भने, “राज्यका तीनवटै तहको साझा प्रतिबद्धता र समन्वय भएको खण्डमा सिर्सियालाई फेरि जीवन दिन सकिन्छ । वीरगञ्ज महानगरबाट शुरुवात भएर यसको सन्देश पुरै प्रदेशमा पर्न सक्छ ।”