परम्परागत र लोपोन्मुख हुँदै गइरहेका सीमावर्ती खेलकुद संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उदेश्यले वीरगंजकाे नगवामा घोडा दौड प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ ।
ब्रहम बाबा सञ्चालक सेवा समिति, नगवा र बीपी कोइराला युवा नेतृत्व विकास मञ्चको संयुक्त आयोजनामा घोडा दौड प्रतियोगिता सम्पन्न भएको हाे । नेपाल र भारतका २० भन्दा बढी घोडा र सवारहरूको सहभागिता आयोजना गरिएको प्रतियोगितामा भारत, बिहार कोतवाका मनोज यादवले प्रथम स्थान हासिल गरेका छन् ।
त्यस्तै मोतिहारीका सोनु यादव द्वितीय र वीरगंज छपकैयाका बिचारी यादव तृतीय भएका छन् । विजेताहरूलाई शिल्ड, प्रमाणपत्र र एलईडी टिभी, मिक्सर ग्राइन्डर, मोबाइल जस्ता इलेक्ट्रोनिक सामग्री पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस पर्साका अध्यक्ष तथा मधेस प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी जनार्दन सिंह क्षेत्रीले घोडा दौडजस्ता लोपोन्मुख खेलहरूमा प्रदेश सरकारले चासो राख्ने उल्लेख गर्दै सांस्कृतिक संरक्षण र सीमावर्ती सम्बन्ध सुदृढीकरणमा यस्ता कार्यक्रमको योगदान उच्च हुने बताए ।
उनले भविष्यमा प्रदेश सरकारमार्फत क्षेत्रीय घोडा दौड महोत्सव आयोजना गर्ने आश्वासन पनि दिएका थिए ।
यसैगरी वीरगंज महानगरपालिकाका उपमेयर इम्तियाज आलमले घोडा दौडजस्ता परम्परागत खेलहरू नयाँ पुस्तालाई सांस्कृतिक पहिचान र मनोरञ्जन दुबै दिने बताए । उनले आगामी वर्षदेखि महानगरपालिकाको बजेटमै यस्तो प्रतियोगिता समावेश गर्ने प्रतिबद्धता जनाएका थिए । यस प्रतियोगितालाई सीमापार पर्यटन प्रवर्द्धनको माध्यम बनाउँदै अन्तर्राष्ट्रिय स्तरको बनाउन सकिने दाबी गरे ।
जिल्ला समन्वय समितिका अध्यक्ष अजय सराफ, स्थानीय बासिन्दा, राजनीतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी, पत्रकार लगायतकाे उपस्थिति रहेकाे थियाे ।
कार्यक्रम प्रभु चौरसियाकाे सभापतित्वमा समपन्न भएकाे थियाे ।