जनकपुरधाम । धनुषाको मिथिला विहारी नगरपालिका–८ ठेरा कचुरीमा बिहे भोजमा खाजा खाँदा सय जनाभन्दा बढी व्यक्ति बिरामी परेका छन् ।
नरेश महराको छोरीको विवाहका लागि जनकपुर उपमहानगरपालिका–२३ बिन्धीबाट जन्ती आएको थियो । स्वयम्बर सकिएलगत्तै खाजामा बुनियाँ, रसबरी लगायतका मिठाइ खुवाइएको थियो । खाजापछि धेरैजनामा पेट दुख्ने, बान्ता हुने, कमजोरी हुने लक्षण देखिएपछि उपचारका लागि अस्पताल लगिएको हो ।
जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाका प्रमुख उमेश यादवका अनुसार ४५ जना भन्दा बढी बिरामी प्रादेशिक अस्पतालमा भर्ना भएका छन् भने अन्यलाई नजिकका क्लिनिक र अस्पतालमा उपचार गराइएको छ ।
यादवका अनुसार घटनास्थलबाट खाजाको स्याम्पल संकलन गरेर परीक्षणका लागि ल्याब पठाइएको छ । ‘खाजामै प्वाइजन भएर बिरामी परेको हाम्रो अनुमान छ,’ उनले भने ।