जिल्ला हुलाक कार्यालय, बारामा कार्यरत तत्कालीन नायब सुब्बा (ना.सु.) एवं हाल कार्यालय प्रमुख रहेका बलीराम प्रसाद कुर्मीसहितका कर्मचारीहरूले हुलाक बचत बैंकमार्फत पाँच करोडभन्दा बढी रकम दुरुपयोग गरेको पाइएको छ । सरकारी रकम अपचलन गरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार (ना.सु.) कुर्मीले २०६० सालदेखि हुलाक बचत बैंकको जिम्मा सम्हाल्दै आएका थिए । यस अवधिमा उनले बचतकर्ताबाट संकलन गरिएको रकमको न अभिलेख राखे, न त केन्द्रीय कार्यालयमा जानकारी गराए । पैसा बैंक खातामा जम्मा नगरी र कार्यालयको नगदी रजिस्टरमा प्रविष्टि नगरी आफ्नो पक्षमा दुरुपयोग गरेको पाइएको छ ।
सर्वसाधारणले पासबुक र लेजर बुकमा देखिने विवरणमा विश्वास गरेर रकम जम्मा गर्दै आएका थिए । तर कुर्मीले कार्यालय प्रमुखहरूसँग मिलेमतो गर्दै बचतकर्ताहरूको कुल जम्मा रकम साँवा ब्याजसहित ५ करोड ३५ लाख ६४ हजार २ सय ७९ रुपैयाँ ३३ पैसा अपचलन गरेको अनुसन्धानबाट खुलेको छ ।
मात्र कुर्मी होइन, उनिपछि तत्कालीन कार्यालय प्रमुखहरू जयलाल प्रसाद साह कानु, अदालत प्रसाद कुर्मी, बुन्नी प्रसाद यादव, सुरेन्द्र प्रसाद यादव र हाल विंदवासिनी गाउँपालिकाका प्रशासनिक अधिकृत सुजित कुमार साह समेत रकम अपचलनमा दोषी ठहरिएका छन् । उनीहरूलाई चेकजाँच नगरी, दस्तावेजमा प्रविष्टि नगरी र केन्द्रीय कार्यालयलाई जानकारी नदिई रकम दुरुपयोग गर्न सहयोग गरेको अभियोग लागेको छ ।
आयोगले सबैलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम दोषी ठहर गरी बिगो बमोजिम कैद र जरिवानाको मागदाबी गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।