बारामा मनसुनका कारण आउन सक्ने सम्भावित बाढी तथा डुबानजन्य जोखिमलाई मध्यनजर गर्दै ‘अभ्यास मनसुन–५’ अन्तर्गतको कृत्रिम उद्धार अभ्यास सोमबार सफलतापूर्वक सम्पन्न गरिएको छ ।
जिल्ला विपद् व्यवस्थापन समिति बाराको संयुक्त आयोजनामा सिम्रौनगढ नगरपालिका–९ स्थित ऐतिहासिक झरोखर पोखरीमा सम्पन्न उक्त अभ्यास “जहाँ विपद, त्यहाँ सहकार्य – सुरक्षाकर्मी सँगै : साझा दायित्व, साझा मार्गदर्शन” भन्ने मूल नारासहित सञ्चालन गरिएको थियो । कार्यक्रममा सिम्रौनगढ नगरपालिका र रेडक्रस सोसाइटी बाराको पनि सहयोग रहेको थियो ।
अभ्यासमा बाढीको समयमा उद्धार कार्य, राहत व्यवस्थापन, प्रारम्भिक स्वास्थ्य सेवा प्रवाह, घाइतेको प्राथमिक उपचार र सामूहिक समन्वयको कार्य पद्धतिलाई प्रस्तुत गरिएको थियो । नेपाली सेना तथा सशस्त्र प्रहरी बल नेपालद्वारा बाँस र पानीका बोतलको सहायताले बनाइएको बोटमार्फत उद्धार कार्यको प्रदर्शन गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समिति बाराका अध्यक्ष बसन्त अधिकारीले कृत्रिम अभ्यास भए पनि यस्ता अभ्यासले विपद् व्यवस्थापनमा सोच्न बाध्य बनाउने बताएका थिए । उनले भने, “कृत्रिम अभ्यास जस्तो लाग्न सक्छ, तर जब विपद् पर्छ तब मात्रै यसको महत्त्व बुझिन्छ।” उनले तालिमप्राप्त उद्धारकर्ताहरू सबै स्थानीय तहमा आवश्यक रहेकोमा पनि जोड दिए ।
उनले आगामी असार १० गतेभित्र स्थानीय तहहरूमा नगरसभा हुँदैगरेको सन्दर्भमा बाढी बढी हुने क्षेत्रहरूमा जीवनरक्षा सामग्रीजस्तै लाइफ ज्याकेट, बोट आदि तयारी अवस्थामा राख्न आग्रह ग रे।
सिम्रौनगढ नगर प्रमुख किशोरी प्रसाद जयसवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संविधानसभा सदस्य रामचन्द्र प्यासी, करैयामाई गाउँपालिकाका अध्यक्ष शम्भुप्रसाद यादव, सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराई, सशस्त्र प्रहरी बल गण बाराका प्रहरी उपरीक्षक खुमबहादुर के.सी, श्री रिपुमर्दन गण ब्रहमपुरी ब्यारेकका प्रमुख सेनानी अशोककुमार क्षेत्री, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी विजयराज पण्डित, प्रशासन शाखाका नायब सुब्बा रत्नबहादुर स्याङतान, वडाध्यक्षहरू, सञ्चारकर्मी र स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन श्री रिपुमर्दन गण ब्रहमपुरी ब्यारेकका क्याप्टेन अनमोल प्रसाईले गरेका थिए ।
भिडियाे सामाग्री