सशस्त्र प्रहरी बल नेपालले मनसुनजन्य विपद् व्यवस्थापन तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन काठमाडौँ उपत्यकासहित देशभर ४१ स्थानमा अस्थायी बेस स्थापना गरेको छ ।
काठमाडौँ उपत्यकामा कोलमटेश्वर मन्दिर, धर्मस्थली, धापासी, ललितपुरको लेले र भक्तपुरको सानोठिमीमा मनसुन प्रतिकार्य बेस स्थापना गरिएको सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता नायब महानिरीक्षक कालिदास धौवजीले जानकारी दिए ।
उनका अनुसार, अन्य प्रदेशमा स्थापना गरिएका बेसहरू यसप्रकार छन्:
कोशी प्रदेशमा मोरङको बखरी र ओखलढुङ्गाको हर्कपुर,
मधेस प्रदेशमा सप्तरीको भारदह र बर्साइन, सिरहाको मिल, धनुषाको दुवरकोट, महोत्तरीको रघुनाथपुर र बनौटा, सर्लाहीको धरहरा, रौतहटको फतुवा, बाराको तेलकुवा र कलैया, र पर्साको पोखरिया,
बागमती प्रदेशमा मकवानपुरको सुनौला, काभ्रेको खालथोक र मङ्गलटार, नुवाकोटको खरानीटार, चितवनको भालढुङ्गा, दोलखाको लिङ्कन बजार र सिङ्गटी, रसुवाको तातोपानी,
गण्डकी प्रदेशमा पर्वतको खहरे, गोरखाको आरुघाट, पूर्वी नवलपरासीको चोरमारा, कास्कीको छाचोक,
लुम्बिनी प्रदेशमा बर्दियाको राजापुर, रुपन्देहीको बुटवल, बाँकेको कुण्डा र कचनापुर, गुल्मीको तुराङ र पाल्पाको दोभान,
कर्णाली प्रदेशमा जुम्लाको बड्की, मुगुको डिमुरखारा र जाजरकोटको दल्ली,
सुदूरपश्चिम प्रदेशमा कैलालीको खानी डाँडा र डोटीको बुडर ।
सशस्त्र प्रहरीका अनुसार यी बेसहरूमा उद्धार कार्यका लागि आवश्यक उपकरणसहितका सुरक्षाकर्मीहरू तयारी अवस्थामा राखिएका छन् । बाढी, पहिरो र अन्य विपद्का समयमा सर्वसाधारणको उद्धार तथा सहायता पुर्याउन यो अभियान थालिएको हो ।
यसअघि सशस्त्र प्रहरी बलले देशभर एक लाख ६८ हजार ९५६ जना विपद् सूचक (डिजास्टर इन्डिकेटर) तयार गरेको थियो । साथै, विपद् व्यवस्थापनमा स्थानीय समुदायको सहभागिता सुनिश्चित गर्न ९९० जनालाई विपद् स्वयंसेवकको अनुशिक्षण तालिमसमेत दिइएको प्रवक्ता धौवजीले जानकारी दिए ।