नारायणी अस्पतालमा उपचारका क्रममा एक कैदीको मृत्यु भएपछि उत्पन्न तनाव व्यवस्थापन गर्न जिल्ला प्रशासन कार्यालय, पर्साले छानबिन समिति गठन गरेको छ ।
बिहान जेलभित्र व्यायाम गर्ने क्रममा कैदी राहुल तुहारा अस्वस्थ भएपछि नारायणी अस्पताल पुर्याइएका थिए । चिकित्सकहरूले थप उपचारका लागि अन्यत्र रेफर गर्न सिफारिस गरे पनि जेल प्रशासन र प्रमुख जिल्ला अधिकारीले समयमै लैजान अनुमति नदिँदा उपचारमा ढिलाइ भई तुहाराको मृत्यु भएको परिवारजनको आरोप रहेको छ ।
यो घटनापछि मृतकका आफन्त र स्थानीयले अस्पताल बाहिर प्रदर्शन गर्दै जेल प्रशासन र अस्पतालको लापरबाही भएको भन्दै विरोध जनाएका छन् । यसले परिस्थितिलाई थप गम्भीर बनाएको थियो ।
स्थिति नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय, पर्साले सहायक प्रमुख जिल्ला अधिकारी बाबुलाल रेग्मीको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ । समितिमा मानवअधिकारकर्मी, प्रहरी, अस्पताल प्रशासनका प्रतिनिधि र मृतक परिवारका सदस्यको समेत प्रतिनिधित्व गरिएको छ । समितिले १५ दिनभित्र घटनाको सत्यतथ्य पत्ता लगाई प्रतिवेदन बुझाउनेछ । नारायणी अस्पताल प्रशासनले भने आफूहरूले सक्दो उपचार गरेको र तत्कालै रेफर गर्न सिफारिस गरिएको दाबी गर्दै आएको छ ।
समितिको प्रतिवेदनले नै तुहाराको मृत्युमा लापरबाहीको संलग्नता थियो कि थिएन भन्नेबारे अन्तिम निष्कर्ष दिने पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए ।
भिडियाे सामाग्री