सन् २०२५ को सुरुवातदेखि हालसम्म नेपालमा जापानिज इन्सेफलाइटिसबाट ११ जनाको मृत्यु भएको छ भने ६३ जना संक्रमित भएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।
परिवार कल्याण महाशाखाका प्रमुख डा. अभियान गौतमका अनुसार मृत्यु हुनेमा तेह्रथुम, बारा, मोरङ, झापा, नवलपरासी पश्चिम, कैलाली, प्युठान र अर्घाखाँचीका एक/एक जना तथा चितवनका तीन जना रहेका छन्। मृतकमध्ये एक जना आठ वर्षका, एक जना १७ वर्षका र बाँकी नौ जना ४० वर्षभन्दा माथिका रहेका छन् । उनका अनुसार ३० प्रतिशत बिरामीको घरमै मृत्यु भएको र २७ प्रतिशत बिरामीको अस्पताल पुग्नेबित्तिकै ज्यान गएको छ । गत वर्ष (सन् २०२४) नेपालमा ८६ जनामा संक्रमण पुष्टि भएको र २५ जनाको मृत्यु भएको विभागले जनाएको छ ।
डा. गौतमका अनुसार हालसम्म २४ जिल्लाका ५० वटा स्थानीय तहमा जापानिज इन्सेफलाइटिस देखा परेको छ । तीमध्ये २४ स्थानीय तहलाई उच्च जोखिम क्षेत्र मानिएको छ । “यो रोग विशेषगरी साउनदेखि कात्तिकसम्म बढी देखिन्छ,” उनले भने, उनका अनुसार हालसम्म ८२ प्रतिशत बालबालिकाले यस रोगविरुद्धको खोप लगाइसकेका छन् ।
रोग र जोखिम
चिकित्सकहरूको भनाइमा जापानिज इन्सेफलाइटिस मस्तिष्कमा असर गर्ने गम्भीर रोग हो, जुन क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट सर्छ । साँझपख र झिसमिसे बिहान लामखुट्टे बढी सक्रिय हुने हुँदा संक्रमणको जोखिम उच्च हुने गर्दछ ।
धानबाली, दलदल र पानी जम्ने क्षेत्र लामखुट्टेको प्रजननस्थल भएकाले यस्ता स्थानमा संक्रमणको सम्भावना बढी हुन्छ । रोग गम्भीर अवस्थामा पुग्दा मस्तिष्क सुन्निने, पक्षाघात हुने, बेहोस हुने, कोमामा जाने र करिब ३० प्रतिशतसम्म मृत्यु दर हुने चिकित्सकहरूले बताएका छन् ।
यो रोग जुनसुकै उमेर समूहमा देखिन सक्ने भए पनि प्रायः १५ वर्षमुनिका बालबालिकामा बढी हुने गरेको छ । संक्रमित लामखुट्टेले हाँस, कुखुरा, सुँगुरलगायतका जनावरलाई टोकेपछि मानिसलाई टोक्दा रोग सर्ने भए पनि मानिसबाट मानिसमा भने नसरिने जनाइएको छ ।
भिडियाे सामाग्री