राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले विद्यालय र विश्वविद्यालय कुनै पनि कारणले बन्द गर्न नपाइने व्यवस्था विधेयकमै स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने माग गरेकी छन् ।
बिहीबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदनमाथि भएको छलफलमा यस्तो माग राखेकी हुन् ।
उनले शिक्षकहरूको हकमा बन्द हडताल गर्न नपाइने व्यवस्था विधेयकमा राखिएकोप्रति ध्यानाकर्षण गराउँदै सोही प्रावधान निजी विद्यालयमा पनि लागू गर्नुपर्ने आवश्यकता औंल्याइन् ।
सांसद श्रेष्ठले भनिन्,
"विद्यालय, विश्वविद्यालय कहिले कसले बन्द गर्ने भन्ने कुरा अन्त्य हुनुपर्छ। विद्यार्थीले पाउने मौलिक हकको हनन कसैले पनि गर्न पाउँदैन । जुनसुकै कारण भए पनि विद्यालयहरू कुनै पनि बहानामा बन्द गरिनु हुँदैन ।"
यस्तै, उनले संविधानले तोकेको अनुसार सबैले अनिवार्य निःशुल्क शिक्षा पाउनुपर्नेमा जोड दिएकी छन् ।