वीरगंज | वीरगंजबाट लाखौँ रकमसहित दुई जना हुण्डी कारोबारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगंज महानगरपालिका–२ घुसुकपुरका ३९ वर्षीय संजय साह र बारा महागढीमाई नगरपालिका–४ बगडमपुरका ४१ वर्षीय शनि कुमार ठाकुर रहेका छन् ।
उनीहरूलाई वीरगंज महानगरपालिका–२ घुसुकपुर ईदगाहचोकबाट प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्राका अनुसार बिहीबार विशेष सूचनाका आधारमा खटिएको टोलीले दुईवटा मोटरसाइकल चेकजाँच गर्दा साहले चलाएको मोटरसाइकलबाट १० लाख रुपैयाँ र ठाकुरले चलाएको मोटरसाइकलबाट ४ लाख १३ हजार ५ सय रुपैयाँ बरामद गरिएको हो । उक्त रकमको श्रोत खुल्न नसकेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार वीरगंज बजार क्षेत्रमा लामो समयदेखि हुण्डी कारोबारको ठूलो सञ्जाल सक्रिय रहेको सूचनाका आधारमा अभियान सञ्चालन गरिएको हो । यसअघि गत महिना पनि प्रहरीले २८ लाख २८ हजार रुपैयाँसहित तीन हुण्डी कारोबारीलाई नियन्त्रणमा लिएको थियो । तीमध्ये पर्सा पकाहामैनपुरका अनिल कुमार बर्णवाल, वीरगंज आदर्शटोलका बिनित कुमार श्रीवास्तव र बारा परवानीपुरका दिपक कुमार सोनार पक्राउ परेका थिए ।
प्रहरीले हालै पक्राउ परेका दुवैजनालाई जिल्ला अदालत पर्सामा म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइएको जनाएको छ । यी घटनाले वीरगन्ज क्षेत्रमा हुण्डी कारोबारको सञ्जाल निकै सक्रिय रहेको देखाएको प्रहरीले जनाएको छ ।
भिडियाे सामाग्री