वीरगञ्जमा हैजाका बिरामी भेटिएपछि छिमेकी जिल्ला बारामा समेत सतर्कता अपनाइने भएको छ । बारा जिल्लामा पनि संक्रमण फैलिने सम्भावना रहेको भन्दै स्वास्थ्य क्षेत्रमा गतिविधि बढाइएको हो । यसै सन्दर्भमा प्रादेशिक अस्पताल कलैयामा शनिबार आकस्मिक बैठक बसेको छ ।
अस्पतालका प्रमुख मेसु डा. अजयकुमार गुप्ता, विभागीय इन्चार्जहरू, जिल्ला जनस्वास्थ्य कार्यालय बाराका प्रमुख रामनरेश यादवसहितको उपस्थितिमा बसेको उक्त बैठकमा प्रारम्भिक तयारीलाई तत्काल प्रभावकारी बनाउन आवश्यक रणनीति र कदमबारे छलफल गरिएको थियो ।
जिल्ला जनस्वास्थ्य कार्यालय बाराले हैजाको सम्भावित जोखिमलाई ध्यानमा राख्दै नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । खानेपानी उमालेर मात्र पिउन, व्यक्तिगत स्वच्छता कायम गर्न र आवश्यक सावधानी लिन उसले सुझाव दिएको छ ।
वीरगञ्ज महानगरपालिकाका विभिन्न वडामा हालसम्म ३६ जनामा हैजाको संक्रमण पुष्टि भएको छ । तीमध्ये नारायणी अस्पतालमा १३, तराई अस्पतालमा १२, नेशनल मेडिकल कलेजमा ५, अलि अर्थो सेन्टरमा ४ र भवानी अस्पतालमा २ जना बिरामी उपचाररत रहेको महानगर स्वास्थ्य शाखाले जनाएको छ ।
हैजाका कारण वीरगञ्जमा आइतबार एक र शुक्रबार एक गरी दुई जनाको मृत्यु भइसकेको छ । बारामा भने रोकथामका लागि प्राथमिक तयारी सुरु गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।