पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) तोयनारायण सुवेदीले आफ्नो कार्यकालमा इमानदार भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
भर्खरै पर्सामा सरुवा भएर आएका प्रजिअ सुवेदीले मंगलबार पत्रकारहरूसँगको भेटघाटमा विभिन्न गुनासा सुन्दै सेवाप्रवाहलाई भित्र र बाहिर दुवै क्षेत्रमा प्रभावकारी बनाउने बताए । उनले पर्साको शान्ति सुरक्षा र अमनचयनमा कुनै सम्झौता नगर्ने दृढता व्यक्त गर्दै अहिलेको हैजा महामारी नियन्त्रण आफ्नो पहिलो प्राथमिकता हुने बताए । “एकैपटक धेरै समस्या समाधान गर्छु भन्ने कुरा यथार्थ नहुन सक्छ, तर मैले गर्नेछु भन्ने कुरा समयले प्रमाणित गर्नेछ,” प्रजिअ सुवेदीले भने ।
उनका अनुसार अहिले सबै मिलेर वीरगञ्जलाई जोगाउनु मुख्य जिम्मेवारी भएको छ । त्यसका लागि जिल्ला प्रशासन कार्यालय र जिल्ला स्वास्थ्य सङ्कट व्यवस्थापन केन्द्र प्राथमिकताका विषयमा खटिरहेको उनले बताए । साथै, उनले पर्साका अन्य पालिका र सरकारी कार्यालयमा देखिएका विकृति–विसङ्गति न्यूनीकरणका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । कर संकलन, कबाडी कर, तस्करी नियन्त्रण, राजस्व चुहावटलगायतका विषयमा आफू निर्मम भएर लाग्ने बताए ।
पत्रकार भेटघाट कार्यक्रममा पर्साका सह–प्रजिअ सुमनकुमार कार्की, बाबुलाल रेग्मी, नेपाल पत्रकार महासंघका केन्द्रिय लेखा समिति संयोजक केसि लामिछाने, मधेस प्रदेशका अध्यक्ष श्याम बन्जारा, पर्सा अध्यक्ष ओमप्रकाश खनाल लगायत सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।
भिडियाे सामाग्री