अभिनेता पल शाहले आफू कुकुरप्रेमी रहेको बताएका छन् ।
आगामी फिल्मको एक दृश्यमा कुकुरको बच्चा जोगाउन आफ्नो ज्यान जोखिममा राखेको भूमिकालाई लिएर चर्चा भइरहेका बेला उनले आफू वास्तवमै कुकुरलाई माया गर्ने व्यक्ति भएको बताएका हुन् ।
उक्त दृश्यमा पलले ज्यानको परवाह नगरी कुकुरको बच्चालाई जोगाउँछन् । त्यसपछि अर्को पात्रले उनलाई एउटा कुकुरको बच्चाका लागि ज्यान नै जोखिममा राखेको भन्दै प्रश्न गर्छ । जवाफमा पल भन्छन्, ‘तैँले त्यहाँ एउटा बच्चा मात्र देखिस् । तर, अलि पर उसकी लाचार आमालाई देखिनस् । हाम्रो लागि त्यो एउटा कुकुरको बच्चा हो। तर, आमाको लागि त्यो सारा संसार हो ।’
फिल्मको यही दृश्यलाई लिएर विभिन्न ठाउँमा पललाई ‘तपाईं साँच्चै कुकुरलाई माया गर्नुहुन्छ रु’ भन्दै प्रश्न गरिएको थियो । जवाफमा उनले आफू ‘डग लभर’ नै भएको बताएका छन् । आफूलाई कुकुर मनपर्ने र उनीहरूप्रति माया लाग्ने उनको भनाइ छ । पलका अनुसार फिल्मको सम्पूर्ण टिमलाई पनि कुकुरसँगको यही दृश्य सबैभन्दा मन परेको छ । भावनात्मक पक्ष समेटिएको यस दृश्यले दर्शकको ध्यान तान्ने अपेक्षा गरिएको छ ।
दसैँको पूर्वसन्ध्यामा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मले अहिले प्रचारप्रसारलाई तीव्र बनाएको छ । चन्द्र पन्तको निर्देशनमा बनेको फिल्ममा पल शाहसँगै मलिका महत, विपना थापा, प्रदीप रावल, नरेन खड्का र साइग्रेस पोखरेललगायत कलाकारको अभिनय रहेको छ ।