गृहमन्त्री रमेश लेखकले पर्सा जिल्लामा फैलिएको हैजा महामारीका कारण उपचाररत विरामीसँग आज भेटघाट गरेका छन् ।
हिजो वीरगन्ज पुगेर नारायणी अस्पतालको निरीक्षण गरेका मन्त्री लेखक आज बिहान निजी अस्पतालमा पुगेका हुन् । उनले वीरगन्ज हेल्थ केयर र तराई अस्पतालमा भर्ना भएका झाडापखाला तथा हैजा संक्रमित विरामीहरूको स्वास्थ्य अवस्था बुझेका छन् ।
अस्पतालका इमरजेन्सी वार्ड, आइसियु र सामान्य वार्डमा उपचाररत विरामीसँग कुराकानी गर्दै गृहमन्त्री लेखकले सरकारले हैजा नियन्त्रणका लागि आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
सो अवसरमा कानुन मन्त्री अजयकुमार चौरसिया समेत मन्त्री लेखकसँगै विरामीसँग भेटघाटमा सहभागी भएका थिए ।
जनस्वास्थ्य कार्यालय पर्साका अनुसार जिल्लामा हैजा संक्रमण देखिएको आज १० औं दिनमा कुल १५९ जनामा हैजा पुष्टि भइसकेको छ । जसमध्ये ११२ जना निको भएर घर फर्किसकेका छन् भने ४७ जना हाल वीरगन्जका विभिन्न अस्पतालमा उपचाररत रहेको जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले जानकारी दिए ।