महोत्तरी । लगातारको वर्षाका कारण आएको बाढीले महोत्तरीको सदरमुकाम जलेश्वरमा जनजीवन प्रभावित बनेको छ । बाढीको पानी पसेपछि जलेश्वरका दर्जनभन्दा बढी सरकारी कार्यालय डुबानमा परेका छन् ।
लगातारको अविरल वर्षापछि आएको बाढीका कारण प्रादेशिक अस्पताल जलेश्वर, विद्युत् प्राधिकरण जलेश्वर शाखा र सबस्टेशन, नेपाल टेलिकम, लोकसेवा आयोग, जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत लगायतका कार्यालयमा पानी पसेको छ ।
बाढीले विद्युत् सबस्टेशनसमेत जलमग्न बनाएको कारण तीन दिनदेखि जलेश्वर क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । स्थानीय युवा दीपेन्द्र चौधरीका अनुसार शनिबारदेखि काटिएको बिजुली आइतबार दुई घण्टाका लागि मात्र सुचारु भए पनि सबस्टेशनमा पुनः पानी पसेपछि पुनः अवरुद्ध भएको हो ।
तीन दिनदेखि लगातार परेको वर्षा आइतबार रातिदेखि रोकिएपछि डुबान क्रमशः घट्दै गएको छ । यद्यपि बाढीले जिल्लाका धेरै क्षेत्र अझै जलमग्न छन् । शनिबारदेखि परिरहेको पानीका कारण महोत्तरीका रातो, जंग्हा, माढा, विग्ही, गेरुकी, कुटमेश्वरी लगायतका नदीमा जलस्तर तीव्र रूपमा बढेको थियो ।
रातो नदीको रतवारा क्षेत्रमा करिब २० मिटर तटबन्ध कटान भएपछि बाढी सोझै जलेश्वरतर्फ प्रवेश गरेको हो । त्यसैगरी एकडारा, बलवा र जलेश्वर नगरपालिका–३ को धवौलीस्थित सशस्त्र प्रहरी चेकपोष्टभन्दा दक्षिणतर्फ ३५ मिटर बाँध कटान भएपछि बाढी सदरमुकामसम्म पुगेको बताइन्छ ।
तटबन्ध कटानपछि बाढीको पानी जलेश्वरको महादेव मन्दिर क्षेत्र, अस्पतालचोक, जिरोमाइलचोक र बसस्टेण्डचोकमा पस्दा ती क्षेत्र डुबानमा परेका छन् ।
बाढीका कारण जलेश्वरसँग जोडिएका सडकसमेत अवरुद्ध भएका छन् । जलेश्वर–बर्दिबास, जलेश्वर–जनकपुर, जलेश्वर–मटिहानी सडक खण्डमा यातायात ठप्प छ ।
मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलका अनुसार सुगा गाउँदेखि पूर्व लचका क्षेत्रमा दुई फिटभन्दा बढी पानी बगिरहेकाले पैदल यात्रीलाई आवतजावतमा समस्या भइरहेको छ । उहाँले पानी घट्दै गएकाले सडक चाँडै सञ्चालनमा आउने अपेक्षा व्यक्त गर्नुभयो ।