काठमाडौँ । लगातारको अविरल वर्षापछि देशभर विभिन्न स्थानमा गएको बाढी र पहिरोमा परी ज्यान गुमाउनेको संख्या ५३ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार रातिसम्मको विवरण अनुसार ५३ जनाको मृत्यु पुष्टि भएको हो ।
सबैभन्दा बढी इलाम जिल्लामा ३७ जनाले ज्यान गुमाएका छन् भने पाँचथरमा ८, रौतहटमा ३, उदयपुरमा २ र खोटाङमा २ जनाको मृत्यु भएको छ । बाँकी मृतक अन्य जिल्लामा रहेका छन् ।
प्रहरीका अनुसार हालसम्म ७ जना बेपत्ता छन् । बेपत्ता हुनेमा बाराका २१ वर्षीय विक्की गोसाई, रसुवाका किशान श्रेष्ठ, संस्कृती श्रेष्ठ, संगीता श्रेष्ठ, रवि श्रेष्ठ, इलामका महेन्द्र लिम्बु र काठमाडौंकी रितु रोका मगर रहेका छन् ।
सुरक्षा निकाय र स्थानीय टोलीले खोज तथा उद्धार कार्य जारी राखेका छन् । मौसम विभागले अझै केही दिन देशका विभिन्न भागमा वर्षा जारी रहने भएकाले बाढी–पहिरोको जोखिम क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।