महोत्तरी । बाढीले प्रभावित भएका जलेश्वर नगरपालिकाको वडा नं. १ र ८ का ९० घरपरिवारलाई राहत वितरण गरिएको छ । बाढीको भेलले घरवारविहीन बनाएका वडा नं. १ का ४७ घरपरिवार र वडा नं. ८ का ४३ घरपरिवारलाई राहत सामग्री प्रदान गरिएको हो ।
बाढीपीडितहरूलाई पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले यो राहत वितरण गरिएको हो । ‘सेभ द चिल्ड्रेन’ द्वारा सञ्चालित समुन्नति कार्यक्रम अन्तर्गत साझेदार संस्था रतौलि युवा क्लबले जलेश्वरका बाढी तथा डुबानबाट प्रभावित गरिब, विपन्न तथा कच्ची घर भएका परिवारहरूलाई राहत वितरण गरेको क्लबका प्रमुख बैद्यनाथ चौधरीले जानकारी दिनुभयो ।
राहत सामग्रीमा प्रति परिवार त्रिपाल दुई थान, गर्मीको कम्बल एक थान, बेबी प्याक एक सेट, एलुमिनियम भुइँम्याट एक थान, त्रिपालको डोरी एक सेट, पानी फिल्टर एक सेट, र भान्सा बनाउने भाँडावर्तन एक सेट गरी करिब १० हजार रुपैयाँ मूल्य बराबरको राहत वितरण गरिएको उहाँले बताउनुभयो ।
“जलेश्वर नगरपालिका र सम्बन्धित वडा कार्यालयसँग समन्वय गरी बाढीले बढी प्रभावित र घरवारविहीन परिवारहरूलाई प्राथमिकता दिई राहत वितरण गरेका छौं,” क्लबका अध्यक्ष चौधरीले भन्नुभयो, “यस वर्ष बाढीले सदरमुकाम जलेश्वरका सबै वडा प्रभावित भएका छन्, अन्य वडामा पनि राहत वितरण क्रम जारी राख्नेछौं ।”
गत असोज १८ र १९ गतेको अविरल वर्षासँगै रातु नदीको बाँध भत्किएर सदरमुकाम जलेश्वरमा बाढी पसेको थियो । त्यसक्रममा जलेश्वरका अधिकांश बस्ती डुबानमा परेका थिए ।
पानी निकासको उचित व्यवस्था नहुँदा चार दिनसम्म सदरमुकाम जलमग्न रह्यो । जलेश्वरको शंकर चौक, नगरपालिका चौक र बजराही जाने सडकमा अझै पनि बाढीको पानी जमिरहेकाले स्थानीय बासिन्दाहरू आवतजावतमा समस्यामा परेका छन् ।
भिडियाे सामाग्री