सर्लाही । सर्लाहीको कौडेनामा बाढीले बगाएर अवरुद्ध बनेको पूर्व–पश्चिम हुलाकी राजमार्गमा अस्थायी डाइभर्सन (भाइभर्सन) निर्माणपछि बिहीबारदेखि चार पाङ्ग्रे सवारी साधन सञ्चालन हुन थालेका छन् ।
गत शनिबार राति भीषण वर्षापछि लखन्देही खोलामा आएको बाढीले कौडेना गाउँपालिका–३, पर्सा गाउँ नजिकै करिब १५० मिटर पक्की सडक बगाएको थियो । सो क्षेत्रमा हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुर र कौडेना गाउँपालिकाको समन्वयमा अस्थायी डाइभर्सन निर्माण गरिएपछि बिहीबार बिहानदेखि सवारी सञ्चालनमा आएको हो ।
कौडेना गाउँपालिकाका अध्यक्ष रुपेश कुमार (बब्लु) का अनुसार दुई दिन र दुई रातको अथक प्रयासपछि राजमार्ग सुचारु गर्न सफल भएका हुन् । “वान–वे” प्रणालीमा अर्थात् एक पटकमा एउटा मात्रै चार पाङ्ग्रे सवारी वारपार गर्न सक्ने गरी डाइभर्सन तयार गरिएको उनले जानकारी दिए ।
बाढीले सडक बगाएको स्थानमा नजिकैका इँटा उद्योगबाट फुटेका इँटा र माटो ल्याएर अस्थायी बाटो तयार पारिएको हो । सर्लाहीको दक्षिण–पश्चिम भेगलाई सदरमुकाम मलङ्गवासँग जोड्ने मुख्य सडकका रूपमा रहेको पूर्व–पश्चिम हुलाकी राजमार्ग बाढीले बगाएपछि स्थानीयवासी, सुरक्षाकर्मी र यात्रु सबैलाई समस्या परेको थियो ।
यसअघि स्थानीय युवा र सुरक्षाकर्मीहरूले बाँस र पटाको लच्का निर्माण गरी पैदलयात्रु, साइकल र मोटरसाइकल वारपार गर्न सहज बनाएका थिए । प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठका अनुसार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा सो लच्का हटाएर त्यही ठाउँमा अस्थायी डाइभर्सन बनाइएको हो ।
हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरका प्रमुख तथा वरिष्ठ डिभिजनल इन्जिनियर कृष्णकुमार महतोले बर्सेनि बाढीले क्षति पुर्याउने कौडेनामा स्थायी समाधानका लागि कलभर्ट निर्माण गर्न प्रस्ताव गरिएको जानकारी दिए । उनका अनुसार कलभर्ट निर्माण गर्न सके बाढीले सडक बगाउने समस्या स्थायी रूपमा अन्त्य हुनेछ । तर, बजेट अभावका कारण तत्काल काम सुरु गर्न कठिनाइ रहेको उनले बताए ।
भिडियाे सामाग्रीहरू