एशियाली विकास बैंक (ADB), नेपाल सरकारको शहरी विकास मन्त्रालय र वीरगंज महानगरपालिकाको संयुक्त लगानीमा करिब २७ करोड रुपैयाँ लागतमा निर्माण गरिएको फोहोर पानी प्रशोधन केन्द्रमा अनियमितता भएको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ ।
अख्तियारमा परेकाे उजुरी अनुसार वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह, प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण र वडा नं. १६ का अयुब मन्सुरी लगायतकाे मिलीभगतमा प्रशोधन केन्द्र जानाजानी बन्द गराई माछापालन गरी करोडौं रुपैयाँ बराबरको राज्यकोष दुरुपयोग गरिएको उल्लेख छ ।
उजुरीमा जनाइएअनुसार करिब २७ करोड रुपैयाँ लगानीमा निर्मित उक्त प्रशोधन केन्द्र सञ्चालनमा ल्याएर शहरको फोहोर पानी प्रशोधन गर्ने उद्देश्य रहेकोमा, ती व्यक्तिहरूले ४ वटा ड्याममा करिब २ फिट माटो पुरेर माछापालन गरेका छन् ।
सोही क्रममा प्रशोधित पानीको आपूर्ति रोक्दै, बिना कुनै सम्झौता माछा र बाख्रा पालन गरी पटक–पटक बिक्री वितरण गर्दै व्यक्तिगत लाभ लिएको आरोप लगाइएको छ ।
अख्तियारका अधिकारीहरूले दिएको जानकारी अनुसार, उजुरीको प्रारम्भिक अध्ययनपछि टोली खटाई वीरगंज महानगरको फोहोर पानी प्रशोधन केन्द्रमा छापा मारिएको हो । छापामारीका क्रममा माछापालनका प्रमाण र अन्य सम्बन्धित कागजात समेत सङ्कलन गरिएको बताइएको छ ।
यो विषयमा थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।