वीरगंज | बारा, पर्सा, सर्लाही र रौतहटका सशस्त्र प्रहरी युनिटहरूसँग सुरक्षा सुदृढीकरणसम्बन्धी एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सीमावर्ती क्षेत्रका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, सञ्चारकर्मी तथा सुरक्षासम्बन्धी निकायका प्रतिनिधिहरूको सहभागितामा कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा सशस्त्र प्रहरी बल (एपीएफ) का डीआईजी कृष्ण ढकालले चारै जिल्लाका सशस्त्र प्रहरी प्रमुखहरूलाई निर्देशन दिएका थिए । उनले सीमाक्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण, स्थानीय निकायसँगको समन्वय वृद्धि र जनताको सुरक्षामा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए ।
डीआईजी ढकालले तस्करी, मानव बेचबिखन, अवैध आवागमन तथा अन्य आपराधिक गतिविधि रोकथाममा कुनै पनि प्रकारको कमजोरी नछोड्न निर्देशन दिए । साथै, जनताको विश्वास जित्न समुदायसँग सहकार्य र संवादलाई प्राथमिकता दिनुपर्नेमा उनले विशेष जोड दिएका थिए ।
अन्तरक्रिया कार्यक्रममा सीमा सुरक्षाको वर्तमान अवस्था, आपसी सहकार्य, जनस्तरमा सचेतना अभिवृद्धि तथा सुरक्षाको समग्र सुधारका विषयमा विस्तृत छलफल गरिएको थियो । सहभागीहरूले सीमाक्षेत्रमा एपीएफको सक्रियता र स्थानीय तहको सहकार्य अझ सुदृढ गर्न सुझाव दिएका थिए ।
कार्यक्रममा राैतहटका प्रहरी उपरीक्षक रामहरि अधिकारी, सर्लाहीका देवबहादुर चन्द, बाराका खेम बहादुर केसी र पर्साका पुरन भट्ट लगायतको उपस्थित रहेको थियोे ।
कार्यक्रममा सीमाक्षेत्रको सुरक्षात्मक सुदृढीकरणमा ठोस दिशा निर्देशन प्राप्त भएको सहभागीहरूले बताएका छन् ।